अब लघुवित्तले क्षेत्रीय स्तरका पत्रिकामा वित्तीय विवरण छाप्न नपाइने, यस्तो छ राष्ट्र बैंकको नयाँ नियम « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

अब लघुवित्तले क्षेत्रीय स्तरका पत्रिकामा वित्तीय विवरण छाप्न नपाइने, यस्तो छ राष्ट्र बैंकको नयाँ नियम



काठमाडौं । अबदेखि लघुवित्त कम्पनीहरुले क्षेत्रीय स्तरका पत्रपत्रिकामा वित्तीय विवरण सम्बन्धी विज्ञापन छाप्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलाबार एकीकृत परिपत्र संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

लघुवित्तले सम्पूर्ण शाखाको समेत कारोबार समावेश गरेर एकीकृत वित्तीय विवरण र कम्पनीका प्रमुख वित्तीय परिसूचकहरु प्रकाशित गर्नुपर्ने हुन्छ । हरेक तीन तीन महिनामा प्रकाशित हुने यस्तो विवरणहरु सञ्चारमाध्यमको एक सुनिश्चित आयस्रोत पनि हो ।

यसअघि राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई स्थानीय तहमै सञ्चालनमा रहेका क्षेत्रीय स्तरमा पत्रपत्रिकामा समेत यस्ता विवरण समेटिएका विज्ञापन छाप्न पाइने व्यवस्था थियो । ‘राष्ट्रियस्तरका संस्थाको हकमा राष्ट्रियस्तर र क्षेत्रीयस्तरका संस्थाको हकमा क्षेत्रीय वा जिल्लास्तरका दैनिक पत्रिकामा’ छाप्न पाइने व्यवस्था यसअघि थियो ।

तर अब ‘राष्ट्रिय स्तरका’ पत्रपरिकामै यस्ता विवरणहरु छाप्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘यस बैंक (राष्ट्र बैंक)ले तोकिदिएको ढाँचामा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा’ विवरण छाप्न निर्देशन दिइएको छ । साथै अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण कम्पनीले आफ्नो वेवसाइटमा अध्यावधिक गर्नुपर्ने पनि भनिएको छ ।

अब क्षेत्रीय र जिल्ला स्तरमा सञ्चालन भएका साना सञ्चार गृहको भाग खोसिने भएको छ । सानै रकम भए पनि उनीहरुले पाउँदै आएको विज्ञापन राष्ट्रिय स्तरका पत्रिकामा पुगेपछि यसले लाभको वितरणलाई झनै केन्द्रिकृत गरेको सञ्चार उद्यमीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्