शेखर गोल्छा नेतृत्वको हुलास अटो क्राफ्टको व्यापारिक छलाङ: ९ महिनामा साढे ९ अर्ब बढीको व्यापार, कस्ता छन् अन्य सूचक? « Arthapath.com
२ असार २०८३, मंगलबार

शेखर गोल्छा नेतृत्वको हुलास अटो क्राफ्टको व्यापारिक छलाङ: ९ महिनामा साढे ९ अर्ब बढीको व्यापार, कस्ता छन् अन्य सूचक?



काठमाडौं । नेपालमै बजाज ब्रान्डका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन एसेम्बलिङ (जडान) गर्दै आएको हुलास अटो क्राफ्टले ९ महिनामै साढे ९ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेको छ।

कम्पनीले चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो ९ महिनामा ९ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले सर्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ।

अघिल्ला वर्षहरू २०२४/२५ मा ९ अर्ब १२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले त्यसअघि २०२३/२४ मा ५ अर्ब १३ करोड २० लाख र सन् २०२२/२३ मा ५ अर्ब ६१ करोड ४० लाख रूपैयाँ बराबरको व्यापार गरेको थियो।

विगतका दुई वर्षको तुलनामा कम्पनीको व्यापारिक आम्दानीमा लोभलाग्दो सुधार आएको छ। आर्थिक वर्ष २०२४/२५ मा वार्षिक ७८ प्रतिशतको वृद्धि हासिल गरेको हुलास अटो क्राफ्टले चालू आर्थिक वर्षको ९ महिनामा पनि वार्षिक ३९ प्रतिशतको औषत वृद्धि कायम राख्न सफल भएको छ।

नेपालमा बजाज ब्रान्डका सवारीसाधनको बलियो बजार पकड र यहाँको एकल एसेम्बलिङ विक्रेता हुनुको मुख्य फाइदा कम्पनीलाई मिलेको देखिन्छ।

कम्पनीको व्यापारसँगै सञ्चालन नाफाको मार्जिनमा पनि निरन्तर सुधार आएको छ। आर्थिक वर्ष २०२३/२४ मा ५.९ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत आर्थिक वर्ष २०२४/२५ मा बढेर ६.८ प्रतिशत पुगेको थियो भने चालू आर्थिक वर्षको ९ महिनामा ६.९ प्रतिशत पुगेको छ।

व्यवसायको आकारमा भएको वृद्धि, आन्तरिक जडानका कारण घटेको उत्पादन लागत, र उच्च मूल्य अभिवृद्धिका कारण नै कम्पनीको नाफाको ग्राफ उकालो लागेको हो।

यस्तै कम्पनीको ऋण तिर्न सक्ने क्षमता समेत मजबुत देखिएकाे छ। आर्थिक वर्ष २०२३/२४ मा ऋण सेवा कभरेज अनुपात २.४ गुणा रहेकोमा चालू आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा यो सूचक बढेर ३.३ गुणा पुगेको छ। अनुकूल ब्याजदरको वातावरण र व्यवसायको गुणात्मक वृद्धिका कारण कम्पनीले कर्जा व्यवस्थापनलाई चुस्त राख्न सफल भएको विश्लेषण गरिएको छ।

यीनै सकारात्मक सूचकहरूलाई मध्यनजर गर्दै इक्रा नेपालले कम्पनीले उपयोग गरिरहेको कुल ३ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ ऋणको साख (रेटिङ) पुनः पुष्टि गरेको छ। एजेन्सीले कम्पनीको ७६ करोड ६२ लाख रुपैयाँको दीर्घकालीन ऋणका लागि ‘एल त्रिपल बी माइनस’ र ३ अर्ब १७ करोड २१ लाख रुपैयाँको अल्पकालीन ऋणका लागि ‘एथ्री’ रेटिङ दिएको छ।

हुलास अटो क्राफ्ट नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसन मातहत सञ्चालित उद्योग हो, जसको नेतृत्व उद्योगी शेखर गोल्छाले गरिरहेका छन्। यस कम्पनीमा उनको ८० प्रतिशत मुख्य सेयर हिस्सा रहेको छ भने बाँकी २० प्रतिशत सेयर आकाश गोल्छाको नाममा छ। कम्पनीको समग्र व्यवस्थापन र नीतिगत निर्णयको मुख्य जिम्मेवारीमा पनि निर्देशकका रूपमा शेखर गोल्छा नै अग्रपंक्तिमा रहँदै आएका छन्। गोल्छा समूहको करिब आठ दशक लामो व्यावसायिक अनुभव र बलियो साखकै कारण यो एसेम्बली उद्योगले छोटो समयमै बजारमा ठूलो व्यावसायिक उचाइ लिन सफल भएको देखिन्छ।

यद्यपी कम्पनीका सामु केहि चुनाैतिरू पनि रहेका छन्। चालू आर्थिक वर्षको मध्य अप्रिलसम्म कम्पनीको कार्यशील पूँजीको सघनता २१ प्रतिशत पुगेको छ, जसको मुख्य कारण ६७ दिन लामो इन्भेन्टरी (सामान मौज्दात राख्ने अवधि) हो।

बजारमा सामान लामो समय होल्ड हुँदा र विगत दुई वर्षमा खुद नाफाको ४७ देखि ७५ प्रतिशतसम्म लाभांश बाँडिएका कारण कम्पनीको तत्कालको तरलता (नगद प्रवाह) मा भने केही दबाब पर्ने देखिन्छ।

यसका साथै बजारमा अन्य स्थापित ब्रान्डहरूले पनि स्थानीय एसेम्बली प्लान्ट खोल्न थालेपछि हुलास अटो क्राफ्टले तीव्र प्रतिस्पर्धाको सामना गर्नु परिरहेको छ। कम्पनीको ७२ प्रतिशतभन्दा बढी आम्दानी निश्चित ‘पल्सर’ मोडलको बिक्रीमा मात्रै निर्भर रहेकाले यसले उत्पादन केन्द्रित जोखिम बढाएको छ।

हाल सरकारले स्थानीय एसेम्बली उद्योगहरूलाई दिँदै आएको भन्सार छुट र नीतिगत संरक्षणकै कारण यो व्यवसाय व्यावसायिक रूपमा नाफामूलक रहेकाले आगामी दिनमा आउने कानुनी वा नीतिगत परिवर्तनले कम्पनीको वित्तीय अवस्थालाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्