हिमालयन रिइन्स्योरेन्सलाई ‘विजनेश दिन’ प्राधिकरणको सर्कुलर
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई ‘विजनेश दिन’ सबै बीमा कम्पनीलाई परिपत्र जारी गरेको खुलेको छ ।
यसअघि गत वैशाख ३१ मा परिपत्र गर्दै प्राधिकरण प्राधिकरणले उक्त कम्पनीलाई ‘रेट्रोसेसन गर्ने कार्यबाहेक’ असार मसान्तसम्म ‘नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको’ भनेको थियो ।
पुनर्बीमा कम्पनीलाई नयाँ व्यवसाय गर्न रोक लगाए पनि स्वदेशी बीमा कम्पनीहरुलाई भने यसबारे कुनै औपचारिक पत्राचार नगरेपछि बीमा क्षेत्रमा अन्योल उत्पन्न भयो ।
त्यसपछि थुप्रै बीमा कम्पनकीमा प्रमुख कार्यकारी अधिकृतहरुले सामुहिक रुपमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीलाई भेटेर ‘स्पष्ट निर्देशन’को माग गरेका थिए ।
‘हिमालयन रिलाई रोक लगाएको भन्ने परिपत्र आएपछि पनि हामी दुई–तीन हप्तासम्म कुर्यौँ । तर हामीलाई प्राधिकरणले कुनै स्पष्ट निर्देशन नदिएपछि आफैँले पहल गरेर प्राधिकरणमा भेट्न गएका थियौँ’, एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले अर्थपथसँग भने ।
‘पुनर्बीमा कम्पनीलाई नयाँ व्यवसाय रोक्नू भनेपछि या त त्यही निर्देशनमा सम्बन्धीत कम्पनीले पनि ऊसँग व्यवसाय नगर्नू भन्नुपर्ने थियो । नभए बीमा कम्पनीहरुलाई नयाँ निर्देशन दिएर हिमालय रिसँग नयाँ व्यवसाय गर्नू भन्नु पर्यो’ ती सीईओले थपे, ‘तर प्राधिकरणले लामो समय यो विषयमा बेवास्ता गरेपछि हामी आफैँ तात्तिनु पर्यो ।’
आफूहरुको अन्योल चिर्न बीमकहरु प्राधिकरण गुहार्न पुगेपछि भने बल्ल प्राधिकरण नेतृत्वले नयाँ परिपत्र पठाएको छ । गत साता परिपत्र गर्दै प्राधिकरणले ‘पहिले नै कन्ट्र्याक्ट भइसकेका’ नयाँ व्यवसाय गर्न नरोकिने भनेर प्रष्ट्याएको छ ।
यसले वार्षिक सम्झौता बमोजिम स्वदेशी बजारबाट करीब ३५ प्रतिशत नयाँ व्यवसाय हिमालयन रिइन्स्योरेन्समा जान नरोकिने भएको छ । प्राधिकरणले रोक्नु भनेको व्यवसाय फेरि खुलाइदिएपछि बीमा कम्पनीहरु भने नयाँ अन्योलमा फसेको अर्को कम्पनीका सीईओ बताउँछन् ।
फेरि नयाँ अन्योल
अहिले हिमालयन रिइन्स्योरेन्स कम्पनी निकै अप्ठेरो अवस्थामा छ । सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत छैनन् । कति पैसा कहाँ हिनामिना भएको छ भन्ने सुनिश्चितता छैन ।
कहाँबाट कति उठ्नुपर्ने हो र त्यो पैसा उठ्छ कि उठ्दैन भन्ने सुनिश्चितता छैन । देश भित्रका कम्पनीलाई त्यस्तो निर्देशन दिए पनि विदेशी बीमा कम्पनीहरुसँगको कारोबारमा ठूलो धक्का लाग्ने अवस्था सिर्जना भएको छ ।
एउटा देशले आफ्नै मुलुकको पुनर्बीमा कम्पनीलाई बदनाम गरेजस्तो सन्देश विश्व बीमा बजारमा प्रवाह भएको ती सीईओहरु बताउँछन् । यस्तो अवस्थामा त्यो कम्पनीले दायित्व भुक्तानी गर्न सक्छ कि सक्दैन भन्ने स्पष्ट मूल्यांकन भएको छैन ।
नयाँ परिस्थितिमा दायित्व थेग्न सक्छ कि सक्दैन भन्ने सुनिश्चितता नहुँदा प्राधिकरणको निर्देशनलाई ढुक्क भएर पालना गर्न आफूहरु अलमलमा परेको ती सीईओ बताउँछन् । यसमा संलग्न पदाधिकारीहरुबीच मुद्दा चलाइए पनि उक्त कम्पनीको शाख नबिगारीकन काम गर्ने वातावरण नियामकले मिलाईदिनु पर्ने उनीहरुको बुझाइ छ ।
‘जेसुकै भए पनि यो हाम्रो देशको एउटा संगठित संस्था हो । पुनर्बीमा भनेको विश्वासको व्यवसाय हो । त्यसमा हजारौँ नेपाली लगानीकर्ताले आफ्नो सम्पत्ती लगानी गरेका छन्’, ती सीईओ भन्छन्, ‘तर अहिले नियामक र सरकारले उसको शाखमाथि नै प्रहार गरेको छ । कम्पनीलाई सम्हालेर लैजाने व्यवस्था गरिदिन सकेको छैन । यसले अन्तत: नेपाली पुनर्बीमा बजारप्रतिको वैश्विक जनविस्वासमा आघात पुग्छ ।’
यस विषयमा कुरा गर्न हामीले नेपाल बीमा प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीलाई मंगलबार दिउँसो सम्पर्क गर्न खोज्दा उहाँको फोन ‘स्वीच अफ’ थियो । त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीलाई फोन गर्दा उहाँको फोन उठेन ।
यद्यपि, बीमा कम्पनीहरु अझै पनि प्राधिकरणकै मुख ताक्न विवस छन्, ताकी हिमालयन रिइन्स्योरेन्सको व्यवसाय र सेवा प्रवाह पनि ‘लयमा फर्काउन’ नियामकले भूमिका खेलिदेओस् ।












