फौजदारी अभियोग लागेका बीमाका सिईओ र कर्मचारी निलम्बन गर्न प्राधिकारणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले फौजदारी अभियोग लागेका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा अन्य कर्मचारीहरूलाई अनिवार्य रूपमा निलम्बन गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय बीमा क्षेत्रमा देखिएको ठूलो घोटाला काण्डमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता भएका सिईओ तथा सञ्चालकहरू कार्यालयमा उपस्थित भई काम गरिरहेको पाइएपछि प्राधिकरणले यस्तो कडा कदम चालेको हो । प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई औपचारिक पत्र पठाउँदै फौजदारी मुद्दामा अभियोजन दर्ता भएका व्यक्तिहरूलाई तत्काल निलम्बन गर्न निर्देशन दिएको छ ।
विशेषगरी सरकारी वकिलको कार्यालयले अभियोग दर्ता गरी फरार सूचीमा राखेका व्यक्तिहरू समेत कार्यालयमा उपस्थित भई कार्यसम्पादन गरिरहेको फेला परेपछि प्राधिकरणले यो निर्णय लिएको हो । यसअघि फौजदारी अभियोग लागेपछि सिईओ वा कर्मचारी निलम्बन हुने कि नहुने भन्ने विषयमा देखिएको अन्योललाई यस निर्देशनले पूर्ण रूपमा स्पष्ट पारिदिएको छ ।
बीमा ऐनमा फौजदारी अभियोग पुष्टि भई सजाय तथा जरिवाना भुक्तान भएको पाँच वर्षसम्म कुनै पनि बीमा कम्पनीमा काम गर्न नपाउने स्पष्ट कानूनी व्यवस्था छ । हाल प्रहरीको अनुसन्धानपछि अभियोग दर्ता भएका व्यक्तिहरूमाथि आरोप पुष्टि नहुने पर्याप्त आधार नरहेकाले उनीहरूले कार्यालयमा फर्केर काम गर्नु कानुनसम्मत नहुने प्राधिकरणको ठहर छ ।
यसअघि केही सिईओहरूले ऐनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि काममा फर्किने प्रयास गरेका थिए, तर अब प्राधिकरणको स्पष्ट निर्देशनपछि उनीहरूले पदमा रहेर काम गर्न पाउने छैनन् । प्राधिकरणको यो निर्णयसँगै अब सम्बन्धित बीमा कम्पनीहरूले तत्काल सञ्चालक समितिको बैठक बोलाएर कामु सिईओको जिम्मेवारी तोक्नुपर्ने बाटो खुलेको छ ।
प्राधिकरणले पत्र पठाएर निलम्बनको सूचना दिएपछि अब सम्बन्धित कम्पनीहरूले यसको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने भएको छ ।












