छड र सिमेण्टको भाउ बढ्यो, २० प्रतिशत भाउ बढेपछि अब कति पर्ला मूल्य « Arthapath.com
२१ कार्तिक २०७८, आईतवार

छड र सिमेण्टको भाउ बढ्यो, २० प्रतिशत भाउ बढेपछि अब कति पर्ला मूल्य



काठमाडौं । पूर्वाधार निर्माणको मौसम शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाऊ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । हिउँद शुरू हुनु अघिबाटै अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ निकै बढ्न थालेपछि यसको असर सिमेण्ट र छडमा परेको हो ।

अहिले फलामे छडको मूल्य प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म वृद्धि भएको छ । सिमेन्टको मूल्य भने २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मारमा पर्ने बताए । सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आँकलन गरिए पनि यसको मूल्य बढेको उनले बताए ।

बजेटको प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी ८३ रुपैयाँ मूल्य तिर्नुपथ्र्यो । रोलिङ मिल्सहरूमा प्रतिस्पर्धा हुन नसकेको र उत्पादन नै रोक्न थाल्दा मूल्यमा कार्टेलिङ भएको छ । व्यवसायिहरुका अनुसार अहिले फलामे छड किन्दा प्रतिकेजी १०२ देखि १०६ रुपैयाँसम्म तिर्नु परेको छ ।

विश्वबजारमा कोइलाको मूल्यमा उच्च वृद्धि भएको र भारतमा पनि सिमेन्टको मूल्यमा वृद्धि देखिएकाले नेपालमा पनि मूल्य बढेको व्यवसायिको भनाइ छ । अहिले छिटफुट रूपमा केही उद्योगहरूले मूल्य बढाए पनि अबको १ महीनाभित्रमा सबै सिमेन्ट उद्योगले मूल्य बढाउन सक्ने संभावना छ । विश्व बजारमा देखिएको कोइलाको मूल्य वृद्धि र कोइला नै नपाउने अवस्था आउने हो कि भन्ने आशंका छ ।

नेपालमै बिलेट बनाई डन्डी बनाउने उद्योगले प्रतिकेजी ६ रुपैयाँका दरले मूल्य बढाएको र बिलेट आयात गरी उत्पादन गर्ने उद्योगले प्रतिकेजी १० रुपैयाँका दरले मूल्य बढाएको उनको भनाइ छ । अहिले कोइला खरीद गर्दा प्रतिकेजी ३० रुपैयाँसम्म तिर्नुपर्छ । यसअघि ८४ रुपैयाँ मूल्यमा डन्डी विक्री गरेको र त्यसमा अहिले ६ देखि १० रुपैयाँसम्म मूल्य बढेको व्यवसायिको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्