हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको ईआईए अन्तिम चरणमा « Arthapath.com
२५ पुष २०८०, बुधबार

हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको ईआईए अन्तिम चरणमा



डेढ खर्बको परियोजना अघि बढ्दा सिंगो अर्थतन्त्र बन्छ चलायमान

काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको छ । अपर अरुण जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम सकिएर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । मन्त्रालयले उक्त ईआईए प्रतिवेदनमाथि रायसुझाव माग गर्दै सात दिने सूचना बुधबार प्रकाशित गरेको छ ।

१०६३.३६ मेगावाटको उक्त जलविद्युत् आयोजना ‘पिकिङ रन अफ रिभर (पीआरओआर) मोडलमा निर्माण गर्न लागिएको हो । संखुवासभामा चीनको सीमाबाट १० किलोमिटर तल अरुण नदीमा १०० मिटर अग्लो उच्च बाँध बाँधेर यो आयोजना निर्माण गर्न लागिएको हो ।

अरुण नदीको करीब साढे १६ किलोमिटर भागलाई सुख्खा बनाएर यो आयोजनाले वार्षिक औसत ४५५० गिगावाट घण्टा विजुली उत्पादन गर्ने छ । यो आयोजना निर्माण गर्न करीब १ खर्ब ४४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । यो रकम १ अमेरिकी डलरको भाउ ११० रुपैयाँलाई आधार बनाएर प्रक्षपण गरिएको हो । अहिले नै १३३ रुपैयाँ पुगेको डलरको भाउका कारण नेपाली मुद्राको लागत बढ्ने पक्काजस्तै छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेड’ ले यो आयोजना प्रबद्र्धन गरिरहेको छ । कम्पनीमा ६८ प्रतिशत लगानी प्राधिकरणको र बाँकी ३२ प्रतिशत सर्वसाधारणको लगानी रहने भनिएको छ ।

सुरुमा १०६१ मेगावाटको योजना बनाइए पनि झण्डै साडे २ मेगावाट थप विद्युत् उत्पादन हुने भएको छ । सोही कम्पनीले ४० मेगावाटको इवाखोला जलविद्युत आयोजना पनि बनाउने छ ।

उक्त आयोजना बन्दा ३ लाख ४१ हजार टन सिमेण्ट तथा कंक्रिट, ५५ हजार टन फलाम (पेनस्टक बाहेक), २५५८ टन विष्फोटक पदार्थ र ६ करोड ७९ लाख लिटर डिजेल आवस्यक पर्ने भनिएको छ । आयोजना निर्माणको चरम समयमा ४५०० जना कामदार आवस्यक पर्ने छ । उक्त आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमै ठूलो सहयोग पुग्ने छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गत सोमबार माथिल्लो मोदी ए जलविद्युत आयोजनाको ‘फाइनान्सियल क्लोजर’ कार्यक्रममा अपर अरुणको सन्दर्भ कोट्याउँदै भनेका थिए, ‘अब हामी तीन अंक (जडित क्षमता)का आयोजनाबाट चार अंकका आयोजनामा जाँदै छौं । यसका लागि देशकै सबैभन्दा ठूलो परियोजनाको निर्माण छिट्टै अघि बढ्ने भएको छ ।’


प्रतिक्रिया दिनुहोस्