७० प्रतिशत सकियो नागढुंगा टनेलको काम, केही महिनामै ‘ब्रेक थ्रु’ « Arthapath.com
९ माघ २०८०, मंगलवार

७० प्रतिशत सकियो नागढुंगा टनेलको काम, केही महिनामै ‘ब्रेक थ्रु’



काठमाडौँ । निर्माणाधीन नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग अर्थात् नागढुंगा टनेलको समग्र भौतिक प्रगति ६९.१५ प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति भने ६३.९६ प्रतिशत पुगेको छ । आयोजना कार्यालयबाट प्राप्त पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो । 

आयोजनामा रहेको २५५७ मिटर लामो रेस्क्यू टनेल गत अगस्टमै ब्रेक थ्रु भइसकेको छ । २६८८ मिटर लामो हुने मुख्य टनेलको पनि अब ५४.६० मिटर भाग मात्रै खन्न बाँकी छ । अब केही महिनामै मेन टनेलको पनि ब्रेक थ्रु हुने दाबी आयोजना कार्यालयको छ । यो आयोजनाको निर्माण २०७७ पुसबाट सुरु भएको थियो । हालसम्म आउँदा १२६ मिटर लामो वर्किङ अडिट र १२८ मिटर लामो कर्स प्यासेज खन्ने काम पनि सकिएको छ । 

यस्तै, आयोजना अन्तरगतको ११ वटा संरचनाको निर्माण पनि सम्पन्न भइसकेको छ । ३ अन्डर पास र ४ बक्स कल्भर्ट (माथि गाडी गुड्ने तल पानी बग्ने संरचना) को निर्माण सकिएको छ । यसै गरी १ ओभर पास, ३ वटा पुलको पनि निर्माण सम्पन्न भइसकेको छ । आयोजना अन्तगत बन्ने १२ संरचना मध्ये फ्लाई ओभर भने निर्माणको चरणमा रहेको छ । 

यो नेपालको पहिलो आधुनिक सुरुङ मार्ग हो ।  जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेशनले यसको निर्माण गर्दै छ । कम्पनीले सुरुङ मार्ग निर्माण कार्य डिसेम्बर २०२०  देखि सुरु गरेको थियो । कम्पनीले २०२४ अप्रिल भित्र आयोजनाको काम सम्पन्न गर्नुपर्छ । तर, सोही समयमै आयोजना तयार नहुने देखिएको छ । 

यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी ५ अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गर्ने छ ।

नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च भइरहेको छ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्