मुक्तिनाथ केवलकारको लागि साढे ५७ अर्बको लगानी स्वीकृत, तीन हाइड्रोका लागि ५९ अर्ब ७६ करोड

काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनालगायत ठूला पूर्वाधार आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँटदेखि मुस्ताङको मुक्तिनाथसम्म ८१ किलोमिटर लामो केवलकार निर्माण गर्न स्वीकृति दिएको हो ।
करिब ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यो परियोजना ‘बुट’ मोडेलमा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्नेछ । परियोजना विकासका लागि बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।
केवलकार सञ्चालनमा आएपछि धार्मिक पर्यटकको आगमन र स्थानीय रोजगारी उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजनाको थप अध्ययन गर्न दक्षिण कोरियाको कोरेलसँग रेल पूर्वाधार सहकार्यबारे सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिनेसमेत निर्णय गरेको छ ।
यस्तै, ४३.२ मेगावाटको छिलुुङ खोला, २१६ मेगावाटको बझाङ माथिल्लो सेती र ४४ मेगावाटको बकान खोला जलविद्युत् परियोजनामा पनि लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ ।यी तीन वटा जलविद्युत परियोजनाका लागि ५९ अर्ब ७६ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ ।
बैठकले जनकपुरमा खानेतेल उद्योग र देशका विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका प्रस्तावहरू पनि अघि बढाउने निर्णय गरेको छ ।