पहिराले मेची राजमार्ग अवरुद्ध « Arthapath.com
२९ असार २०८३, सोमबार

पहिराले मेची राजमार्ग अवरुद्ध



इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन ।

यातायात अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)का अनुसार व्यवसायीले साना सवारीमा सामान ओसारेर दैनिक आवश्यकताको जोहो गरिरहेका थिए । तर वैकल्पिक मार्गसमेत बन्द भएपछि इन्धन र खाद्यान्नको अभाव हुन सक्ने जोखिम बढेको छ ।

मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि बर्खायाममा निरन्तर पहिरोको उच्च जोखिममा पर्दै आएको छ । करिब आधा किलोमिटर सडक बारम्बार धस्सिने समस्याले यस वर्ष पनि यातायात सञ्चालनमा गम्भीर असर पुर्‍याएको छ । पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायम रहेकाले थप वर्षा भए आवागमन अझ प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्