घटाएको ‘पुनर्बीमा कमिसन’ निर्जीवन बीमा कम्पनीद्वारा अस्वीकार, संशोधन गर्न ७ दिने अल्टिमेटम « Arthapath.com
४ श्रावण २०८०, बिहीबार

घटाएको ‘पुनर्बीमा कमिसन’ निर्जीवन बीमा कम्पनीद्वारा अस्वीकार, संशोधन गर्न ७ दिने अल्टिमेटम



काठमाडौं । घटाएको पुनर्बीमा कमिसन कम्पनीहरुले अस्वीकार गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सले नेपाल निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त गरिरहेको प्रत्यक्ष हिस्सा(डिरेक्ट सेसन)को पुनर्बीमा कमिसन घटाइएको छ । उनहीको कमिसन १४ प्रतिशतसम्म घटाएर पठाएको सम्झौताको प्रस्ताव नेपाल बीमक संघले अस्वीकार गरेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा दुई पुनर्बीमा कम्पनीले ३७.५० प्रतिशतसम्म कमिसन दिएका थिए । तर, सो कमिसनलाई चालु आव २०८०/८१ मा भने साढ १२ प्रतिशतले घटाइएको छ । चालु आवमा सम्पत्ति बीमामा २५ प्रतिशत मात्रै कमिशन दिने प्रस्ताव गरिएको छ । यस्तै, मोटर बीमाको २० प्रतिशतमा झारिएको छ । जबकि गत आवमा भने ३० प्रतिशत र २५ प्रतिशत दिइएकोे थियो ।

यता, इञ्जिनियरिङ बीमाको २५ प्रतिशत कमिसनलाई १५ प्रतिशत र कृषि बीमाको १८ देखि २५ प्रतिशतसम्मको कमिसनलाई १५ देखि २२ प्रतिशत कायम हुने गरि प्रस्ताव गरिएको छ ।

कमिसन घटाएपछि नेपाल बीमक संघले भने चालु आवका लागि प्रस्ताव गरिएको कमिसन प्रति आपत्ति जनाएको छ । विगतका वर्षमा प्राप्त गरको प्रत्यक्ष हिस्सामा थप जोखिम वृद्धि भएको संघले जनाएको छ । तर, पनि कम्पनीहरुसंग छलफल नै नगरि एकतर्फी रुपमा नयाँ आवका लागि पठाइएको पुनर्बीमा सम्झौताको प्रस्तावमा बिना कुनै आधार र कारण अनावश्यक तथा आधारहिन थप शर्तहरु राखिएको संघको भनाई छ । ‘पनुर्बीमा सम्झौता एक करार हो । कर एकतर्फ नहुने साधारण वर्गले समेत बुझ्ने विषय हो’–संघले विज्ञप्ति मार्फत जनाएको छ।

घटाएर पठाएको प्रस्ताव सात दिनभित्र संशोधन गर्न संघले अनुरोध गरेको छ । संसोधन नगरेको खण्डा व्यापार नै नलिने बुझि कम्पनीहरुले आफै जोखिम व्यस्थापन गर्ने समेत जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्