लघुबीमा कम्पनीले थाले व्यवसायिक कारोबार: दुई वटाको तयारी अन्तिम चरणमा, तीन वटाले पुर्‍याएनन् पुँजी « Arthapath.com
५ श्रावण २०८०, शुक्रबार

लघुबीमा कम्पनीले थाले व्यवसायिक कारोबार: दुई वटाको तयारी अन्तिम चरणमा, तीन वटाले पुर्‍याएनन् पुँजी



काठमाडौं । लघुबीमा कम्पनीहरुले धमाधम व्यवसायिक कारोबार थालिसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएकामध्ये गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले व्यवसायिक संचालनमा आएका हुन् ।

प्राधिकरण चार वटा कम्पनीलाई लघुबीमा गर्न लाइसेन्स दिएको थियो । प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको हो ।

गार्डियन माइक्रो लाइफले कोशी प्रदेशको विराटनगरमा गत असार २२ गते शुक्रबारदेखि कारोबार आरम्भ गरेको हो । गार्डियन माइक्रोले नेपालकै पहिलो लघुबीमा कम्पनीको ताज पाएको छ । यता, नेपाल माइक्रो इन्स्योरेन्सले पनि असार २८ गते बिहीबारदेखि कारोबार शुभारम्भ गरेको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले निर्जीवन बीमालेख बिक्री गर्नेछ ।

लाइसेन्स पाएकामध्ये बाँकी प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफले पनि छिट्टै व्यवसायिक कारोबार थालनी गर्दैछन् । यी दुई कम्पनीले पनि कारोबार थालनीका लागि अन्तिम तयारीमा छन् । कम्पनीका अनुसार आगामी साउन दोस्रो साताभित्रै यी दुई वटै लघुबीमा कम्पनीले पनि व्यवसायिक कारोबार सुरु गर्नेछन् । यी दुवै कम्पनीको सबै पुर्वाधार तयार अवस्था छन् । प्राधिकरणबाट पोलिसी स्वीकृत पनि भईसकेको छ।

क्रेष्ट माइक्रो लाइफले साउन दोस्रो सातादेखि कारोबार थाल्ने बताएको छ । ‘पूर्वाधार लगायतका सम्पूर्ण तयारी भईसकेको जनाएको छ । प्राधिकरणबाट टर्म पोलेसी पनि स्वीकृति भइसेको छ । अब साउन दोस्रो सातादेखि नै कारोबार थाल्ने तयारी छ’–कम्पनीले स्रोतले भन्यो । यता, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि साउन १२ गतेसम्म कारोबार सुरु गर्ने जनाएको छ । कम्पनीको केन्द्रीय कार्यलय सुदुरपश्चिमको कैलाली, धनगढीमा रहनेछ ।

न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नेगरी लघुबीमा कम्पनीहरु स्थापना गरिएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । लघुबीमा कम्पनीले विशेषगरि ग्रामिण बीमाको पहुँच वृद्धिमा योगदान हुने उनको भनाई छ । ‘अझै गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमा बीमाको पहुँच पुगेको छैन । तर, अब लघुबीमा कम्पनीको उदय हुने भएसँगै अब त्यस्ता नेपालीहरुमा पनि बीमाको पहुँच विस्तार हुने बलियो आधार देखिएको छ’– निर्देशक पौडेलले भने । यसका साथै लघुबीमाको उद्देश्य अनुरूप स्थानीयस्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धाका साथ इमान्दारीपूर्वक काम गर्न कम्पनीहरुलाई आग्रह समेत गरेका छन् ।

तीन कम्पनीले पुँजी जुटाउँदै

प्राधिकरणले मुलुकको सातै प्रदेशमा संचालन हुने गरि ७ वटा कम्पनीलाई लघुबीमा संचालनका लागि आशय पत्र दिएको थियो । आशयपत्र पाएका तीन वटा कम्पनीले भने अझै पुँजी जुटाउन सकेका छैनन् ।

लिवर्टी माइक्रो लाइफ, स्टार माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले पुँजी जुटाउन नसकेका हुन् । अहिले यी तीनै वटा कम्पनी पुँजी जुटाउन लागि रहेका छन् ।

प्राधिकरणले गत भदौ ६ गते लघु बीमा संस्थापना तथा दर्ता सम्वन्धी निर्देशिका, २०७९ जारी गरेको थियो । सोही निर्देशिका अनुसार लघुबीमा कम्पनीको लागि न्युनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।

यस्तै, निर्देशिकामा लघु बीमा कम्पनीहरु पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने र चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्नुपर्ने, संस्थापकको पनि न्युनतम ५१ प्रतिशत सेयर हुनुपर्ने निर्देशिकामा व्यवस्था छ ।

लघुबीमामा सीमा

प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई बीमा गर्ने सीमा पनि तोकिदिएको छ । प्राधिकरणले जारी गरेको लघुबीमा निर्देशिका, २०७९ अनुसार निर्जीवन लघुबीमामा अधिकतम ५० लाख रुपैयाँ र जीवन लघुबीमामा अधिकतम ५ लाख रुपेयाँसम्मको सीमा तोकेको हो ।

प्राधिकरणले निर्जीवन बीमा तर्फ घर, सम्पत्ति तथा व्यवसाय लघुबीमामा ५० लाख रुपैयाँको सिमा तोकिएको छ । यस्तै, इन्जीनेरिङ बीमामा पनि ५० लाख, दायित्व तथा मौद्रिक क्षति र अन्य प्रकारका लघुबीमामा ५ लाख रुपैयाँको सीमा तोकेको हो ।

मोटर लघुबीमामा ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा र ठेलगाडाको मात्रै बीमा गर्न पाइने प्राधिकरणले जनाएको छ । उनीहरुको मुल्यअनुसार बीमांक राखेर बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ । निर्जीवन लघुबीमाको अवधि भने अधिक्तम १ बर्षको राख्नुपर्नेछ ।

यता, जीवन लघुबीमामा ५ लाख रुपैयाँको अधिक्तम सिमा तोकिएको छ । जीवनतर्फ आजीवन, सावधिक, म्यादी र अन्य लघुजीवन बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ । जीवन लघुबीमाको अवधी भने न्यूनतम १ बर्ष हुनुपर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्