माइक्राे इन्स्याेरेन्सलाई मोटरको बीमा गर्ने अनुमति दिएसँगै बढ्यो अन्योल, स्पष्ट पार्न नियामकको ढिलाइ « Arthapath.com
२५ पुष २०८०, बुधबार

माइक्राे इन्स्याेरेन्सलाई मोटरको बीमा गर्ने अनुमति दिएसँगै बढ्यो अन्योल, स्पष्ट पार्न नियामकको ढिलाइ



काठमाडौं । असीमित दायित्व (दावी पर्ने) हुन सक्ने मोटर बीमाको बीमाङ्कमा निश्चित सीमा तोकेर लघुबीमा कम्पनीलाई पनि कारोबार गर्न बाटो खुला गरिएको छ ।

मोटर बीमामा दायित्व असीमित हुने सम्भावना हुन्छ । तर, नेपाल बीमा प्राधिकरणले ५० लाख रुपैयाँ बीमाङ्क (दायित्व) को सीमा तोकेर लघुबीमा कम्पनीलाई यसको कारोबार गर्न बाटो खुला गरेको छ । प्राधिकरणले हालै लघुबीमा निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि लघुबीमा कम्पनीले ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने कृषि उपकरण, मोटर साइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा र ठेलागाडाको मात्रै बीमा गर्न पाउने व्यवस्था थियो ।

अहिले निर्देशिका संशोधन गर्दै सबै खाले मोटरको बीमा गर्न लघुबीमा कम्पनीलाई बाटो खुला गरिएको छ । अब तोकिएको सीमाभित्र रहेर लघुबीमा कम्पनीले सबै खाले मोटरको बीमा गर्न पाउनेछन् ।

निर्देशिकाअनुसार लघुबीमा कम्पनीले अधिकतम दायित्व ५० लाख रुपैयाँसम्म राखेर मोटर बीमा गर्न सक्नेछन् । तर, मोटर बीमाको दायित्व (क्षति तथा दावी) भने ५० लाखभन्दा माथि हुने सम्भावना हुन्छ । फलस्वरुप लघुबीमा कम्पनीले मोटर बीमा गर्दा भविष्यमा दाबि भुक्तानीको समस्या आउने सम्भावना बढेको बिमकहरु नै बताउँछन् ।

मोटर बीमामा तेस्रो पक्ष बीमाको सम्भावित क्षति असिमित हुन्छ । कतिपय मोटरको मूल्य नै ५० लाखभन्दा बढी हुन्छ । दुर्घटनाका कारण मोटरसाइकल, कार, बसमा सवार हुने व्यक्ति घाइते तथा मृत्य भएमा त्यसको दायित्व पनि धेरै नै आउँछ ।

मोटरको आफ्नै सहित दोस्रो पक्ष र तेस्रो पक्षमा हुने क्षति जोड्दा ५० लाखभन्दा धेरै नै बढी दावी सिर्जना हुन्छ । तर, त्यसमा न्यून सीमा तोकेर बीमा गर्दा भविष्यमा समस्या आउने सम्भावना बढेको सरोकारवालाहरु बताउँछन् ।

मोटरसाइकलमा तेस्रो पक्ष मानवीय क्षतिको अधिकतम दायित्व २५ लाख तोकिएको छ । यसैगरी तेस्रो पक्ष सम्पत्ति क्षतिको अधिकतम दायित्व पनि २५ लाख छ । यदि, यो अनुसार दावी परेमा ५० लाख रुपैयाँको सीमा सकिन्छ ।

यो सीमाअनुसार बीमा गरेको अवस्थामा मोटरसाइकल दुर्घटनामा दोस्रो पक्ष (चालक र पछौटे अर्थात् पछाडी बस्ने व्यक्ति) को उपचार गर्नुपर्दा एवम् उनीहरुको मृत्यु भएमा थप भुक्तानी दिनुपर्ने बीमा समितिको निर्देशनमै उल्लेख छ ।

यस्तो अवस्थामा मोटरसाइकलका दुई यात्रुको उपचारका लागि प्रतिव्यक्ति ३ लाख र मृत्यु बापत थप ५–५ लाख रुपैयाँ दिनुपर्छ । यसरी एउटा मोटरसाइकलको दोस्रो र तेस्रो पक्षको दायित्वमात्रै लिँदा समेत अधिकतम ६६ लाखको दायित्व सिर्जना हुनसक्छ । मोटरसाइकलको पहिलो पक्षको दायित्व त यसमा समावेश नै छैन ।

चार पांग्रे र ठूला यात्रुबाहक सवारीसाधनको बीमा गर्दा त यस्तो दायित्व असाधारण रुपमा बढ्न जान्छ । तर ५० लाखको सीमा तोकिदिएर मोटर बीमा गर्ने अनुमति नियामकले दिएपछि यसले बजारमा अन्योल सिर्जना भएको छ ।

यतिका धेरै दुविधा र अन्यौलता हुदाँ–हुँदै पनि प्राधिकरणले यसमा कुनै स्पष्ट नीति भने ल्याइसकेको छैन । लघुबीमा कम्पनीले अधिकतम ५० लाखसम्मको दायित्वमात्रै बहन गर्ने गरी बीमा गर्नुपर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

‘मोटर बीमामा पक्कै पनि दायित्व बढी हुन्छ । तर, ५० लाख सीमा तोकेर लघुबीमा कम्पनीलाई कारोबार गर्न भनिएको छ । यसले केही समस्या निम्ताउन सक्छ’ प्राधिकरणका एक उच्च अधिकारीले भने । यसको समाधानका लागि केही उपाय खोज्ने उनको भनाई छ ।

उनका अनुसार नेपालमा लघुबीमा कम्पनीहरु नयाँ भएकाले पनि उनीहरुलाई व्यवसाय दिनकै लागि यस्तो व्यवस्था गरिएको हो । लघुबीमा कम्पनीहरुको व्यावसायिक दायरा बढाउनकै लागि सो व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘लघुबीमा कम्पनीहरु पुर्णत नयाँ हुन् । उनीहरुलाई व्यवसाय विस्तार गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको छ, यसबाट आउने समस्या समाधान गर्न केही उपाय खोज्छौं ।’


प्रतिक्रिया दिनुहोस्