थप आक्रामक बन्यो हिमालयन रि: नाफा शतप्रतिशत बढ्यो, व्यापारमा वृद्धिमा पनि उस्तै छलाङ « Arthapath.com
२९ माघ २०८०, सोमबार

थप आक्रामक बन्यो हिमालयन रि: नाफा शतप्रतिशत बढ्यो, व्यापारमा वृद्धिमा पनि उस्तै छलाङ



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको खुद नाफा दोब्बर वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

समीक्षा अवधिमा कम्पनीले ६० करोड २७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा भने ९९.७३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा भने कम्पनीले ३० करोड १७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको खुद बीमा शुल्क आर्जन पनि उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ६० लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा १५४.६५ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा भने कम्पनीले ७८ करोड ३८ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी पनि ५०.९० प्रतिशत बढेर ७३ करोड १५ लाख ४३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको  लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २६.४५ प्रतिशत बढेर ४७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ छ भने कुल खर्च १ अर्ब ६० करोड ८६ लाख रुपैयाँ कायम भएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्ग ६९ करोड २८ लाख, महाविपत्ति कोषमा ७ करोड ७० लाख र अन्य इक्विटी २ करोड ४१ लाख रुपैयाँ छ । 

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेर १२ रुपैयाँ ५ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ पनि १४७ रुपैयाँ ३० पैसा छ । 


प्रतिक्रिया दिनुहोस्