१ खर्ब नाघ्यो जीवन बीमा व्यापार, व्यवसायमा नेशनल र एलआइसीबीच कडा टक्कर « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

१ खर्ब नाघ्यो जीवन बीमा व्यापार, व्यवसायमा नेशनल र एलआइसीबीच कडा टक्कर



काठमाडौं । ९ महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा हाल संचालनमा रहेका १४ वटा ठुला जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चैत मसान्तसम्ममा कम्पनीहरुले कुल २१ अर्ब ४६ करोड २७ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा नविकरण मार्फत कुल ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।

जीवन बीमा कम्पनीहरुमा कुल सक्रिय रहेको बीमालेखको संख्या १ करोड ३८ लाख ३२ हजार ६०१ छ। चैत महिनामा मात्रै कम्पनीहरुले कुल ४ लाख २६ हजार ३९८ वटा बीमालेख बिक्री गरि कुल ११ अर्ब ५५ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो महिनामा कम्पनीहरुले २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क र नविकरण मार्फत ८ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा व्यवसायमा नेपाल लाइफकै वर्चस्व, नेशनल र एलआइसीबीच कडा टक्कर

जीवन बीमा व्यवसायमा नेपाल लाइफकै वर्चस्व देखिएको छ । समिक्षा अवधिमा कम्पनीले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ । ९ महिनामा नेपाल लाइफले २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले कुल १३ लाख २३ हजार ८३१ बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले ९ महिनामा प्रथम बीमा शुल्क४ अर्ब ८१ करोड ३० लाख र नविकरण मार्फत २४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ बीमा शुल्क अर्जान गरेको छ ।

व्यवसायमा नेशनल र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) बीच टक्कर देखिएको छ। चैत मसान्तसम्ममा नेशनल लाइफले कुल १२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, एलआइसी नेपालले पनि १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यी दुवै कम्पनीलाई भने हिमालयन लाइफले पच्छ्याएको छ । समिक्षा अवधिमा हिमालयन लाइफले कुल १२ अर्ब ३३ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसायको आधारमा पाँचौं स्थानमा रहेको सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, एशियन लाइफले ५ अर्ब ७८ करोड ९५ लाख, राष्ट्रिय जीवन बीमाले ५ अर्ब ४६ करोड ९७ लाख, सानिमा रिलायन्सले ४ अर्ब २७ करोड ६९ लाख, सिटिजन लाइफले ४ अर्ब २४ करोड ४९ लाख र मेट लाइफले ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यस्तै, आइएमई लाइफले पनि ३ अर्ब २९ करोड ११ लाख, प्रभु महालक्ष्मीले ३ अर्ब ६ करोड ३८ लाख, रिलायवल नेपालले २ अर्ब ९८ करोड २६ लाख र सन नेपाल लाइफले २ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्