‘छिट्टै सरकार परिवर्तत हुन्छ, प्रत्यक्ष निर्वाचन प्रणालीका लागि वातावरण बनाऔँ’ : कांग्रेस « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

‘छिट्टै सरकार परिवर्तत हुन्छ, प्रत्यक्ष निर्वाचन प्रणालीका लागि वातावरण बनाऔँ’ : कांग्रेस



काठमाडौँ। नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा डा. महतले यस्तो बताए ।

उनले काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै उनले थपे, ‘जसले अस्थिरता निम्ताएको छ, त्यो शक्ति यस देशको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक छ ।’

उनले अस्थिरतामा खेल्ने राजनीतिक प्रबृत्तीले लोकतान्त्रिक आन्दोलन जोखिममा परेको र विकासको लागि असाध्यै घातक सिद्ध हुँदै गएको बताए । ‘नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि यो अस्थिरता सबैभन्दा घातक छ’ उनले भने ।

यसअघि नेपाली कांग्रेससँग सत्ता साझेदारी तोडेपछि प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रमबाटै ‘म बाँचुञ्जेल उथलपुथल भइरहन्छ’ भनेका थिए । प्रचण्डकै अर्थमन्त्री हुँदा समानान्तर सरकार चलाएको भनेर आरोप खेपेका डा. महतले भने प्रधानमन्त्री र उनको दललाई नै यो दोष दिन खोजेका हुन् की अन्य कुनै शक्तिलाई भनेर स्पष्ट पारेनन् ।

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निष्तेज बनाउनुपर्ने धारणा राखे। यसबाट उनले आरोपको तिर प्रधानमन्त्रीतिर सोझिएको हुनसक्ने कार्यक्रममा सहभागिले बताएका थिए ।

महतले अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाँडै टुङ्गिने बताए । उनले छिट्टै नै विकास र स्थिरताप्रति समर्पित सरकार आउने दाबी गरे ।

‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुङ्गिनेवाला छ । र चाँडै नै हामीले लोकतन्त्रप्रति समर्पित, कुराले होइन कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने ।

महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे । कांग्रेस प्रवक्ताबाट यस किसिमको धारणा ‘फ्लोर’ भएको यो पहिलो पल्ट हो ।


प्रतिक्रिया दिनुहोस्