‘पात्र’ तयार नभएपछि अड्कियो प्राधिकरण अध्यक्षमा नियुक्ति प्रक्रिया « Arthapath.com
२२ पुष २०८१, सोमबार

‘पात्र’ तयार नभएपछि अड्कियो प्राधिकरण अध्यक्षमा नियुक्ति प्रक्रिया



काठमाडौँ । मन्त्री परिषदले पुस ९ मा बीमा समितिको नयाँ अध्यक्ष नियुक्ति गर्न सिफारिस समित गठन गरेको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित उक्त समितिले अहिलेसम्म आवेदन माग्न समेत सकेको छैन ।

दुई साता बित्नलाग्दासम्म समितिले यसमा काम थालेको छैन । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार यसरी समिति गठन गरेर काम नहुनुमा उक्त पदमा स्थापित गर्ने ‘उचित पात्र’को खोजि हो ।

पछिल्लो समय नेपालमा अधिकतर सरकारी नियुक्तिहरु कुनै एक पात्रलाई दिने निश्चित भएपछिमात्रै प्रक्रिया थाल्ने गरिएको छ । प्रक्रिया पुराउन र बैध नियुक्ति देखाउनका लागि मात्रै कानूनी हरफहरुको सकेसम्म कार्यान्वयन गर्ने कोसिस भइरहेको छ ।

तर उचित पात्र नपाएसम्म प्रक्रिया नै रोक्ने वा लम्ब्याउने गरिन्छ । यसअघिका कयौँ नियुक्तिमा यस्तो अनुभव स्पष्ट रुपमा गरिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । त्यसैले अहिले पनि विभिन्न राजनीतिक दल र शक्ति केन्द्रहरु आफू अनुकुलको ‘पात्र’कै खोजिमा देखिएका छन् ।

धेरै मानिसहरु अध्यक्षको दाबेदारीमा अघि बढेको देखिएको छैन । कोही मान्छे अध्यक्ष बन्न चाहन्छ भने पनि ऊ यस विषयमा अहिले मुख खोल्न तयार देखिँदैन ।

गुपचुप र ‘सेटिङ’मा ज्यादा निर्भर हुने भएकाले उमेदवारहरु खुला मैदानमा उत्रिन चाहिरहेका छैनन् । त्यसमाथि शक्ति केन्द्रले कुनै एक पात्रलाई नियुक्त गर्नका निम्ति नै प्रक्रिया थाल्ने भएकाले आफ्नो संभावना नदेखेका मानिसहरु प्रतिस्पर्धामै नउत्रने अवस्था बनेको छ ।

नियामकहरु माथिको ‘अति–राजनीतिकरण’ले यस्तो अवस्था आएको हो ।

त्यसैले आगामी ४ वर्षको पुरा कार्यकाल आफूप्रति ‘नतमस्तक’ हुने र आफ्नो निर्देशन अनुसार काम गर्ने सबैभन्दा विस्वासिलो पात्रको खोजि भइरहेको प्राधिकरणकै एक पूर्व अध्यक्षले बताए । बीमा र यसको बजारलाई बुझेको भन्दा पनि आफ्नो ‘दास’ बन्न तयार हुने मान्छेको खोजि गर्न राजनीतिक नेतृत्व र शक्तिकेन्द्रहरु तत्पर हुँदा अहिले ढिलाई भएको उनीहरुको बुझाइ छ ।

यस ढिलाई बारे सिफारिस समितिका संयोजक अधिकारी कुनै प्रतिक्रिया दिनै चाहिरहेका छैनन् । पहिले पनि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ‘पात्र’बारे विरोधाभाष भएपछि अन्तरवार्ता तोकिएको दिन उनी ‘अस्वस्थ’ बनेका थिए । अहिले पनि हामीले उनलाई पटक पटक टेलीफोन गर्दा कुरा हुन सकेन । मोबाइल सन्देश र ह्वाट्सएपजस्ता माध्यमबाट प्रश्न पठाउँदा समेत उनको कुनै जवाफ आएन ।

‘माथिबाट मान्छे तयार भयो, प्रक्रिया थाल भनेर नभनेसम्म विचरा समितिले के गरोस्’, आयोगकै एक उच्च अधिकारीले अर्थपथसँग भने, ‘त्यसैले उहाँहरुसँग नै जवाफ नहुने अवस्था छ । तपाइँलाई के जवाफ दिनू ?’

नियुक्ति लिने पात्र तयार पार्न अहिले पनि शक्ति केन्द्रहरु र राजनीतिक नेतृत्वले विभिन्न व्यक्ति र समूहसँग छलफल गरिरहेको सूचनाहरु आएका छन् । तर त्यस्ता छलफल र भेटघाटले निचोड दिन सकेजस्तो देखिँदैन ।

‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष त पछिल्लो उदाहरणमात्रै हो, लामो समयदेखि नियुक्तिमा यस्तो फिक्सिङ हुँदै आएको छ’, अर्थ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘योग्यता, दक्षता, क्षमता र उसको दृष्टिकोणलाई नजरअन्दाज गर्ने परिपाटीले यस्ता महत्वपूर्ण पदको गरिमा पनि घटाएको छ ।’

उनका अनुसार ‘जुन दिन आवेदन मागेर गोरखापत्रमा सूचना प्रकाशित हुन्छ’ त्यस दिन सम्झनु पर्छ की– ‘अब पात्र तयार भएछ ।’ त्यो पात्र कुन दल, कुन नेता वा कुन शक्तिकेन्द्रको पक्षमा उभिएको हुन्छ भन्ने चाहीँ नियुक्ति प्रक्रिया अघि बढ्दै जाँदा थाहा हुने छ ।


प्रतिक्रिया दिनुहोस्