दशैंलाई दैनिक १२०० खसी, ८०० राँगाभैंसी, ६०० बंगुर, साढे ३ लाख किलो कुखुरा र ५००० किलो माछा « Arthapath.com
२१ आश्विन २०७८, बिहीबार

दशैंलाई दैनिक १२०० खसी, ८०० राँगाभैंसी, ६०० बंगुर, साढे ३ लाख किलो कुखुरा र ५००० किलो माछा



काठमाडौं । उपत्यकाभित्र तयारी मासुको अधिकतम बिक्री मूल्य निर्धारण भएकोछ । सरकार र व्यवसायीहरुबीचको आपसी सहमतिमा एक वर्षका लागि मासुको अधिकत खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो । केही वर्षयता नेपालमा यसरी अधिकतम विक्री मूल्य तोक्ने गरिएको छ ।

अहिले नयाँ मूल्य तोकिएको भने पनि पोहोरकै भाउलाई यथावत राख्ने निर्णय भएको हो । सरकारसँगको समझदारीमा उक्त मूल्य तय भएको भए पनि उपत्त्यकाका विभिन्न स्थानमा योभन्दा सस्तो र महँगो भाउमा पनि माछामासुको विक्री हुने गरेको छ । केही अघि कुखुराको मासु प्रतिकिलो ४८० रुपैयाँसम्म पुगेको थियो ।

यस वर्ष पनि वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकै भाउ याथवत राख्ने सहमति भएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । सो मूल्य अबको एक वर्षका लागि मान्य हुने संघका अध्यक्ष रमेश खड्गीले बताए । तोकिएको नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई तीन भागमा छुट्याएर मूल्य तोकिएको छ ।

आन्द्रा र भुँडी मिसिएको खसीको मासु प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ । आन्द्रा, भुँडी र बोसो नमिसिएको तर बिक्रेताले छानेर दिने मासुको प्रतिकिलो मू्ल्य १२ सय रुपैयाँ तोकिएको छ । उपभोक्ताले छानेर खरीद गर्ने खसीको मासुको मूल्य किलोमा १३ सय रुपैयाँ तोकिएको छ ।

ब्रोइलर कुखुराको मासुको भाउ प्रतिकिलो ३०० रुपैयाँ तोकिएको भए पनि यसमा १० रुपैयाँसम्म मुल्य थपघट गर्न सकिने सहमति भएको छ । उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा र बंगुरको मासुको प्रतिकिलो मूल्य पनि ५ सय रुपैयाँ किलो कायम गरिएको छ । माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसँग तोक्न नसकिएको संघले जनाएको छ ।

बजारमा अत्यधिक मात्रामा रुचाईने राहु माछाको मूल्य किलोमा ३५० देखि ४ सय हाराहारी पर्ने छ । दशैंका लागि धेरैमा मानिसहरुले उपत्यका छोड्ने भएकाले उपत्यकामा सामान्य अवस्थाकै हाराहारीमा मासुको बिक्री हुने अनुमान व्यवसायीहरुको छ ।

यस्तै दैनिक तीनदेखि तीन लाख ५० हजार किलो कुखुराको मासु दशैंमा खपत हुने अनुमान गरिएको छ । यस्तै ८ सयको संख्यामा राँगा र भैंसी, ६ सय गोटा बंगुर र ५ हजार किलो माछाको दैनिक आपूर्ति यथावत राखिने संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्