हामी सोह्रश्राद्ध किन गर्दछौँ ? « Arthapath.com
५ आश्विन २०८१, शनिबार

हामी सोह्रश्राद्ध किन गर्दछौँ ?



आश्विन कृष्णपक्ष लोकमा पार्वण श्राद्ध, अपरपक्ष, महालय, सोह्रश्राद्ध आदि नामले प्रसिद्ध छ । यो पितृपक्ष यस वर्ष असोज २ गते बुधबारबाट प्रारम्भ भएको छ । श्राद्धले परलोक गएका पितृलाई तृप्ति र सुख दिने तथा श्राद्ध गर्नेलाई पनि कामनाअनुसार आयु, विद्या, धन, पुत्र, राज्य, सुख, स्वर्ग र मोक्ष पनि दिने कुरा शास्त्रमा वर्णन छ । श्राद्ध जसले गर्दैन, पितृले उसको रगत पिउँछन् भनेर श्राद्ध नगर्नेको तीव्र निन्दा शास्त्रले गरेको छ ।

लौकिक दृष्टिले हेर्दा पनि श्राद्ध आफ्ना पितापुर्खाप्रति भक्तिभाव, अनुराग, कृतज्ञता, आस्था तथा धार्मिक–सांस्कृतिक परम्पराप्रति श्रद्धा जगाउने कृत्य भएकाले साह्रै ठुलो धार्मिक कृत्य देखिन्छ । श्राद्ध साह्रै ठुलो कर्म हो पुत्रको परम् धर्मः ।
शरीरद्रव्यदाराभू मनोमन्त्रद्विजन्मनाम् । शुद्धिः सप्तसु विज्ञेया श्राद्धकाले विशेषतः ।।

स्कन्दपुराण प्रभासखण्ड १÷२०५÷१७। श्राद्धमा विशेषगरी १. श्राद्ध गर्ने भूमि पवित्र आफ्नो घरमा शुद्ध मानिन्छ, २. श्राद्ध गर्नेको शरीर शुद्ध हुनुपर्छ, ३. श्राद्ध गर्नेको मन शुद्ध हुनुपर्छ, ४. श्राद्धकर्ताकी पत्नी शुद्ध हुनुपर्छ, पत्नीको स्थान ठुलो छ पत्नी हस्तेन पाक भनिएको छ, ५. श्राद्ध गर्ने धन शुद्ध हुनुपर्छ, छलकपट, कमिसन, अन्याय, अत्याचार, भ्रष्टाचार ठगेर जुवातास आदि दुष्कर्मबाट थुपारेको कालो धन पितृले ग्रहण गर्दैनन्, आफ्नो परिश्रमबाट आर्जित सेतो धन हुनुपर्छ ६. श्राद्धमा प्रयुक्त हुने मन्त्र शुद्ध उच्चारण हुनुपर्छ, अशुद्ध भयो भने पितृले पाउँदैनन्, ७. श्राद्धमा भोजन गर्ने ब्राह्मण वेद पढेको, शास्त्रको ज्ञाता, सदाचारी, शुद्ध कुलीन, श्रद्धालु हुनुपर्छ । यति सात कुरा विशेषगरी श्राद्धमा शुद्ध हुनुपर्छ । श्राद्ध र व्रतको दिनमा क्षौरकर्म गर्नुहुँदैन :
षष्ठ्यां पर्वसु पक्षादौ भद्रारिक्तातिथिष्वपि ।

पाते श्राद्धे व्रताहे च वर्ज्यं क्षौरं निशासु च ।। मरीचि वचन, निर्णयसिन्धु, पृष्ठ २८७ । सामान्यतया औँसी, पूर्णिमा, सङ्क्रान्ति, एकादशी, अष्टमी, २, ७, १२, ४, ९, १४ तिथिमा, भद्रा, व्यतिपातयोग, श्राद्ध, व्रतको दिन र राति, क्षौर गर्नु, कपाल काट्नुहुँदैन । श्राद्धको अघिल्लो दिन श्राद्धकर्ताले कपाल मुण्डन गर्नैपर्छ ।

ब्रतानामुपवा सानां श्राद्धादीनां च संयमे ।
न करोति क्षौरकर्म सो ४ सुचिः सर्वकर्मसु ।। ब्रह्मवैवर्त पुराण, प्रकृतिखण्ड ३०/३८ ।
श्राद्धकर्ताले अघिल्लो दिन कपाल, दारी, जँुगा, नङ काटी, टाउकोमा चोख्यान घिउ घसेर स्नान, सन्ध्योपासन, गायत्रीजप, वेदपाठ, नित्यतर्पण गरी शुद्ध हविष्य भोजन घिउ हालेर पकाएको भात अपराह्नकालमा सूर्यास्तभन्दा पहिलै एकछाक भोजन गर्नुपर्छ । भोलिपल्ट स्नान, सन्ध्योपासन र गायत्री मन्त्र जपेर विधिपूर्वक निर्माण गरेर मन्त्रिएको नयाँ जनै लगाई शुद्ध सेतो धोती र उपर्ना लगाई सर्वप्रायश्चित्तगोदान गरेर श्रद्धा, शास्त्रमा विश्वासका साथ, आफ्ना पितृ तृप्त हुन् भन्ने उद्देश्य राखेर आफ्नो शक्तिअनुसार कुनै कञ्जुस्याइँ नगरी प्रसन्नतापूर्वक सबै सामग्री तयार गरेर मात्र श्राद्ध गर्नुपर्छ, अनि पितृतृप्त हुन्छन्, नत्र पितृले पाउँदैनन् र त्यो सबै राक्षसको भागमा जान्छ, व्यर्थ हुन्छ भनिएको छ शास्त्रमा,
पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः ।

छुट्टिएर पृथक् अलग पाक भान्सा (छुट्टाछुट्टै पकाएर खाने) गरी बसेका आ–आफ्नो आम्दानी खर्च आ–आफ्नै भोग्ने गरेका दाजुभाइले अंशबन्डा भएर वा नभएर पनि पितामाताको श्राद्ध छुट्टाछुट्टै नै गर्नुपर्नेछ भन्ने कुरा हाम्रो धर्मशास्त्रमा उल्लेख छ । अतः ज्येष्ठ दाइले र आमाले ठुलो दाइकहाँ गर्नुहुन्छ तिथि चलिहाल्छ भनेर श्राद्ध नगर्ने छोराहरूले यो प्रमाण वचनको याद गर्नुहोला:
अविभक्ताः पृथग्रामाः स्वस्वार्जितधनाशनाः । भ्रातरःकुर्वते श्राद्धं मातापित्रोः पृथक् पृथक । व्यघ्रपादस्मृतिः श्लोक २८३÷२८४ ।
एकपाकेन वसतां पितृदेवद्विजार्चनम् ।

एकं भवेत् विभक्तानां तदेव स्याद् गृहेगृहे ।। वृहस्पतिवचन निर्णयसिन्धु पृष्ठ ३५६ । भ्रातृणामविभक्तानां पृथक्पाको भवेद् यदि । वैश्वदेवादिकं श्राद्धं कुर्युस् ते वै पृथक् पृथक ।। निर्णयसिन्धु पृष्ठ ३५७ ।

विभक्तैश्च पृथक् कार्या क्रिया सांवत्सरादिका । एकैकेन च कर्तव्या पुत्रेण च स्वयंस्वयम् । मूलगरुड पुराण २।३४।१३०
यति कुरा बुझेर श्राद्ध गर्नुपर्छ, नत्र ठुलो प्रत्यवाय (पाप) लाग्छ नरकमा पर्छ । अतः श्रद्धापूर्वक श्राद्ध गरौँ आफ्ना पितृको । पितृभ्यो नमः ।

आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः ।। श्राद्धले तृप्त भएका पितृले श्राद्धकर्तालाई आयु, सन्तति, धन, विद्या, स्वर्ग, मोक्ष, सुखसुविधा, राज्य सम्पत्ति दिन्छन् । अतः जस्तोसुकै दुःखकष्टमा पनि पुत्रले पितामाताको श्राद्ध छोड्नुहुँदैन, अनिवार्य गर्नुपर्छ भन्ने श्राद्धको महात्म्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्