धनतेरसमा कस्तो छ भाँडाकुँडाको व्यापार ? ग्राहक कुर्दै सुनचाँदी व्यवसायी « Arthapath.com
१३ कार्तिक २०८१, मंगलवार

धनतेरसमा कस्तो छ भाँडाकुँडाको व्यापार ? ग्राहक कुर्दै सुनचाँदी व्यवसायी



काठमाडौँ । आज  धनत्रयोदशी अर्थात् धनतेरस । यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । आजको दिन नयाँ सामान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन रहँदै आएको छ ।

सुनचाँदी विकल्पमा चरेस (काँस), तामा र पित्तल लगायतका भाँडाकुँडा समेत खरिद गर्ने गरेका छन् । धनतेरसले बजारमा चहलपहल बढाएको छ । आज मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्यूरोड लगायत स्थानमा सामग्री किन्नेको भिडभाड बढेको छ ।

बजारमा भिडभाड देखिए पनि ब्यापार भने सोचेअनुरुप हुन नसकेको व्यापारीहरू बताउँछन् । ‘अहिले बजारमा अधिकांश सामानको मूल्य बढेर आएको छ । त्यसैले पनि किन्ने भन्दा पनि सोध्ने ग्राहक बढी देखिन्छन्’ इन्द्रचोकमा भाँडा पसल सञ्चालन गर्दै आएका एक व्यापारीले भने । सुन-चाँदीको मूल्य पनि अधिक बढेका कारण सोचेअनुरुप हुन नसकेको व्यवसायीहरूले बताए ।

व्यापार सोचेअनुरुप हुन नसके पनि व्यापारीको व्यस्तता भने विगतको तुलनामा बढेको छ । अहिले तामाको मूल्य प्रतिकिलो १६०० देखि २००० सम्म पुगेको छ । त्यस्तै काँसको मूल्य ३५०० देखि ३८०० रुपैयाँ पुगेको व्यापारीहरूले बताए । गुणस्तर अनुसार मूल्य फरक पर्ने जाने उनीहरूको भनाइ छ । यसपालि तामाको मूल्य किलोमै ५ सय रुपैयाँसम्म बढेको छ ।

विगतमा धनतेरसदेखि लक्ष्मीपूजामा अत्यधिक व्यापार हुन्थ्यो । तर अहिले भिडभाड छ तर व्यापार नभएको व्यापारीहरू बताउँछन् । असनमा भाँडा व्यवसाय गरिरहेका अर्का व्यवसायी पनि महंगीले व्यापार घटेको बताउँछन् । ‘विगतमा खाजा खाने फुर्सद हुँदैन थियो । यस वर्ष खासै व्यापार होला जस्तो छैन’ अनुहार मलिन पार्दै उनले भने ।

धनतेरसमा लक्ष्मी, गणेशलगायत भगवान्का प्रतिमा, कछुवा, खड्कुला, गाग्री, माना, पाथीलगायत तामाका भाँडा धेरै बिक्री हुन्छन्। ग्राहकले धनतेरसमा सानोतिनो भए पनि सामग्री खरिद गर्ने गरेका छन् ।

काठमाडौंको नयाँ बानेश्वरबाट असन पुगेकी अप्सरा शर्मा लक्ष्मी पुजाको लागि सानोतिनो भए पनि सामान किन्ने योजना रहेको बताउँछिन् । ‘महँगो छ । तामा र चरेसको भाँडा किन्ने योजना छ । सबै चिज महंगिएको रहेछ । आफ्नो गक्षअनुसार सानै भए पनि सामान जोड्नुपर्ला’ उनले भनिन् । उनले धनतेरसको केही न केही सामान किन्दै आइरहेकी छिन् ।

धनतेरसका दिन यस्ता सामान किनेर पूजा गरे धनसम्पत्ति जोगिने जनविश्वास रहेको छ । त्यसो हुँदा पनि यस दिन सकेसम्म सामना जोड्ने प्रचलन रहँदै आएको छ ।

बढेन सुनको व्यापार

तिहार नजिकिएसँगै सुन-चाँदीको व्यापार चम्कने अपेक्षा राखेका व्यवसायीहरू निरास छन् । सामान्यतया तिहारको धनतेरसलाई सुनचाँदी र गहना किन्ने दिन मानिन्छ। धनतेरसको दिनमा सुनचाँदीका गहना, सिक्का खरिद गरेर लक्ष्मीपूजाको दिनमा पूजा गर्दा लक्ष्मी भित्रिने मान्यता छ। त्यसैले पनि सो समयमा धेरैले सुनचाँदी खरिद गर्ने गरेका छन्  ।

तर न्यूरोड र विशालबजार, असन लगायत स्थानका सुन-चाँदी पसल सुनसान देखिन्छन् । केही पसलमा ग्राहकको भिड देखिए पनि अधिकांश पसल सुनसान देखिन्छन् ।सुनको मूल्य अत्यधिक बढेका कारण व्यवसायका धक्का पुगेको देखिन्छ ।  अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले पनि बजार सुस्त बनाएको छ। छुट अफर राख्दा पनि किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरू बताउँछन् ।

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै महँगो हो।  चाँदी मूल्य पनि प्रतितोला २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको कारण पनि व्यवसायमा असर परेको व्यापारीहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्