विदेशमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमणदर घट्यो, सङ्क्रमितमध्ये ९२ प्रतिशत निको « Arthapath.com
२८ असार २०७७, आईतवार

विदेशमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमणदर घट्यो, सङ्क्रमितमध्ये ९२ प्रतिशत निको




लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली संघले जनाएको छ ।


गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर यो साता कम भएको छ ।संघका अनुसार हालसम्म कोराना संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हिजो शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।


संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ ।

नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ ।


ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
अघिल्लो गतसाता सम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको थियो ।

२६ हजार ३ सय ९६ जना नेपालीको उद्दार


नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरेको छ ।

विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो ।
गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २ सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो ।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो । शनिवार मात्रै विभिन्न मुलुकबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् ।

१ सय ५७ शव ल्याइयो


यसै अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्