गएको साता खाडीका ३ देशमा मात्रै कोरोनाबाट १६ नेपालीको ज्यान गयो « Arthapath.com
४ श्रावण २०७७, आईतवार

गएको साता खाडीका ३ देशमा मात्रै कोरोनाबाट १६ नेपालीको ज्यान गयो




काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ ।


गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो ।


कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।


गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

त्यसैगरी २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन । संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् ।

१ सय ७२ शव ल्याइयो

यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।


विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्