महामारीलाई परास्त गरी सफल हुनेमा म विश्वस्त छुः प्रधानमन्त्री (पूर्ण पाठ सहित) « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

महामारीलाई परास्त गरी सफल हुनेमा म विश्वस्त छुः प्रधानमन्त्री (पूर्ण पाठ सहित)



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा भिडियो सन्देश मार्फत सन्देश दिनु भएको छ । शुभकामना दिनु हुँदै प्रधानमन्त्री ओलीले कोरोनाले भयावहरुप लिन सक्ने बताएका छन् ।

आज कोरोना भाइरसले दुनियाँलाई एउटा न हामी सजग हुनु जरुरी छ । यस घडीमा म गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं भन्ने आग्रहका साथ दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि म सबै दिदीबहिनी तथा दाजुभाइहरुमा प्रम ओलीले अनुरोध गरेका छन् ।

२५६४ औँ बुद्ध जयन्तिका अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेलीले दिनुभएकाे शुभकामना सन्देश
२५ बैशाख २०७७

आज विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औं जन्मजयन्ति हो । सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय बैशाख दिवस (द डे आफ भेसाक) का रुपमा मनाउने घोषणा गरेको थियो । हामीले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसका रुपमा पनि मनाउँदै आएका छौं ।

यस अवसरमा म विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

सिंगो विश्व कोरोना भाइरसको संक्रमण र महामारीबाट प्रभावित नभएको भए आज हामी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हुनेथियौं । गत साल भियतनामको हनोइबाट यसको घोषणा गरे बमोजिम अन्तर्राष्ट्रिय बैशाख दिवसको तयारीमा लागि रहेका हुनेथियौं । नेपाल भ्रमण बर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा लुम्बिनी चहलपहलमय हुनेथियो । भैरहवाको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा कतिपय चार्टर फ्लाईटहरु अवतरण भइरहेका हुनेथिए । बुद्ध जयन्तीसँगै आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुले विश्व समुदायमाझ लुम्बिनी र नेपालको विशेष ध्यान खिचिएको अवस्था हुनेथियो ।

यी अवसर र सफलताहरुबाट यस बर्ष हामी बञ्चित हुनुपुगेका छौं । यस बर्षको बुद्ध जयन्ती हामीले राष्ट्रव्यापी लकडाउन भइरहेको र अन्तर्राष्ट्रिय उडान आगमनसमेत रोकिएको बन्दप्रायः अवस्थामा मनाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

शाक्यमुिन बुद्धको जीवनमा सात अङ्कको अनौंठो संयोग रहेको पाइन्छ । भनिन्छ उहाँ जन्मनासाथ सात पाइला हिंड्नुभएको थियो । जन्मेको सात दिनमा आमा मायादेवीको निधन भएको थियो । छ बर्षसम्म अनवरत तपस्या गरी सातौं बर्षमा उहाँले बुद्धत्व प्राप्त गर्नुभएको थियो । र, उहाँको महापरिनिर्वाणपछि पार्थिव शरीरलाई के गर्ने भनी सात दिनसम्म पर्खिएर निर्णय गरिएको थियो ।
हाम्रो देश नेपाल, शाक्यमुनिसँगै बुद्ध धर्म, बुद्ध दर्शन र तीनवटा बुद्धको जन्मस्थलका रुपमा प्रख्यात रहेको छ । सम्राट अशोकले इ.पू. २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेख सहितका एक एकवटा स्तम्भ स्थापना गर्नुभएको पाइन्छ । पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो ।

ब्रम्ही लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेकोे तथ्य प्रमाणित भएको सर्वविदितै छ । अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलबस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भयो । साथै, नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपा अहिलेसम्म उत्खनन् नभएको मौलिक स्तुपाका रुपमा रहेको छ, जहाँ शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहेको छ । एक घन्टाको यात्राबाट ३ वटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने यस्तो संयोग संसारमा कहींकतै पाइदैंन ।

नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व छ । यहाँ संयुक्त राष्ट्र संघको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको छ । लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रुप दिन सार्थक प्रयास जारी छ । हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरुसँगै पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौं । लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, त्यति मात्र होइन, यो बुद्ध दर्शनको उद्गमस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।

सरकारले चालेको प्रभावकारी कदम र सम्बद्ध सबैको रचनात्मक सहयोगका कारण कोरोना भाइरसको संक्रमणबाट हालसम्म नेपालमा कुनै पनि मानवीय क्षति भएको छैन । यो हामी सबैका लागि सन्तोषको कुरा हो । यस महामारीबाट विश्वभरि ज्यान गुमाउने सबैप्रति म, भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै, संक्रमितहरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु ।

यस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यवद्धता प्रदर्शन गर्न हामीलाई यस दिनले थप प्रेरित गरिरहेको छ । विश्वव्यापी साझा प्रयाश र एकताको बलमा यस महामारीलाई परास्त गरी मानव समुदायको जीवनरक्षा गर्न सफल हुनेमा म विश्वस्त छु ।

कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा, लकडाउनका कारण मानसिक तनावमा परेकाहरुमा शान्तिका लागि र संक्रमितहरुको स्वास्थ्यलाभ तथा उनीहरुको उपचार र हेरचाहमा संलग्न रहेका अग्रपंक्तिका योद्धाहरुप्रति ऐक्यवद्धता जाहेर गर्न बुद्ध जयन्तिको यस पावन दिनका अवसरमा लुम्बिनी र सबै चैत्य, गुम्बा, ध्यान केन्द्रहरु र आआप्mना घरमा बैशाख २५ गते साँझ ७ः०० बजे दीप प्रज्ज्वलन गर्न समेत म सबैमा हार्दिक आह्वान गर्दछु !

सबैको कल्याण होस्, सबैको मंगल होस्, सबैमा शान्ति र सुख प्राप्ति होस् ।


प्रतिक्रिया दिनुहोस्