दलका राष्ट्रिय अधिवेशनलाई जनताले उत्साह र चासो किन दिएनन् ? « Arthapath.com
४ मंसिर २०७८, शनिबार

दलका राष्ट्रिय अधिवेशनलाई जनताले उत्साह र चासो किन दिएनन् ?



रामलाल श्रेष्ठ

नेपालका राजनीतिक दललाई आ–आफ्नो राष्ट्रिय महाधिवेशनले व्यस्त बनाएको छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी आ–आफ्नो महाधिवेशन यही मङ्सिरमा सम्पन्न गर्ने गरी महाधिवेशनको मिति र प्रतिनिधि चयन गर्ने कार्य धमाधम सम्पन्न गरिरहेका छन् ।

पार्टीको महाधिवेशन भनेको के हो ?
राजनीतिक दलका महाधिवेशन भनेको देश निर्माणको खाका तयार गर्ने जमघट हो । राजनीतिक दलका महाधिवेशन चार वा पाँच वर्षको अन्तरालमा देशैभरिका पार्टीमा संलग्न एउटै विचार र आस्था बोकेका राजनीतिक कार्यकर्ताको जमघटको ठूलो मेला हो । यो जमघटको पहिलो काम राजनीतिक दलले बोकेको आफ्नो विचार र आस्थाअनुसार देश निर्माणको खाका तयार गर्ने र त्यो खाकालाई दस्ताबेजको रूपमा महाधिवेशन प्रतिनिधिसामु छलफल गरी पारित गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको हुन्छ । त्यसपछि आगामी चार वा पाँच वर्षका लागि पार्टी नेतृत्व चयन गर्ने अर्को महत्वपूर्ण जिम्मेवारी पार्टीको महाधिवेशनले बोकेको हुन्छ ।

नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादीका राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न धमाधम महाधिवेशन प्रतिनिधि चुनिने काम सम्पन्न भइरहेको छ । राजनीतिक दलको महाधिवेशन सम्पन्न हुने प्रक्रिया चलिरहँदा ती दलका नेता–कार्यकर्तामा मात्र उत्साह र चासो देखिन्छ । वास्तवमा राजनीतिक दलका राष्ट्रिय अधिवेशनले देशैभरिका जनताको उत्साह र चासो उत्पन्न गर्न सक्नुपर्ने हो । राजनीतिक दलका महाधिवेशनले ती दलका नेता–कार्यकर्ताको भविष्य कोर्ने उद्देश्यभन्दा देशको र जनताको भविष्य कोर्ने मूल उद्देश्य बोकेको हुन्छ । राजनीतिक दलले बोकेको दर्शन र त्यसको जगमा समाज निर्माणको खाका र त्यो काम सम्पन्न गर्न सरकार निर्माण गर्ने र सरकारको नेतृत्वसमेत गर्ने नेताको चयन गर्ने मूल काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

राजनीतिक दर्शनको छलफल भनेको के हो ?
नेपाली काङ्ग्रेस आफ्नो १४औँ महाधिवेशन सम्पन्न गर्ने चरणमा छ । नेपाली काङ्ग्रेसले बोकेको राजनीतिक दर्शन के हो ? विगत ३० वर्षमा उसले बोकेको राजनीतिक दर्शनको आधारमा समाज रूपान्तरणको समीक्षा उसले यो महाधिवेशनमा गर्नुपर्ने हुन्छ । नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक समाजवाद वा लोकतान्त्रिक उदारवाद कुन दर्शन बोक्ने हो नेपाली जनताले जान्न पाउनुपर्छ । महाधिवेशनको प्रतिनिधि चयन गर्ने सिलसिलामा राजनीतिक दर्शनबारे एक शब्द उच्चारण भएको भेटिँदैन । महाधिवेशन प्रतिनिधिले कम्तीमा आफ्नो दलले बोकेको राजनीतिक दर्शनबारे आफ्ना कार्यकर्ता र देशैभरका जनतामा त्यसको प्रचार–प्रसार गर्ने महत्वपूर्ण अवसरसमेत हो । नेपाली काङ्ग्रेसले आफूले बोकेको राजनीतिक दर्शनबारे छलफल गरिरहेको छैन । महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक दर्शनको दस्ताबेज तयारै नगरी महाधिवेशन गर्न तम्सनु नेपाली काङ्ग्रेसजस्तो लामो इतिहास बोकेको पार्टीलाई सुहाउने कुरा होइन ।

नेपाली जनताको पहिलो अधिकार उसले आमनिर्वाचनमा उसको आस्था रहेको राजनीतिक दर्शनको चयन गर्न पाउनु हो । जब राजनीतिक दलले आफ्नो राजनीतिक दर्शनको स्पष्ट खाका आफ्नो महाधिवेशनमा प्रस्तुत गर्न सक्दैन भने त्यो पार्टीसँग नेपाली समाज बदल्ने स्पष्ट खाका कसरी हुन्छ ? कुनै पनि राजनीतिक दल सरकारमा पुगेपछि उसले बोकेको राजनीतिक दर्शनको जगमा बसेर समाज रूपान्तरण वा देश निर्माण गर्ने नीति निर्माण गर्ने हो । राजनीतिक दलले आफ्नो महाधिवेशनमा राजनीतिक दर्शनको चेत भएका प्रतिनिधि चयन गर्न असमर्थ हुँदै गइरहेको छ । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमध्ये अधिकांशमा राजनीतिक दर्शनको ज्ञान नै छैन । आफूलाई पार्टीको स्थानीय वा पालिका वा क्षेत्रीय वा जिल्ला वा महाधिवेशनसम्मका प्रतिनिधिका उम्मेदवारले राजनीतिक दर्शनको आधारमा आफू चयन हुनुपर्ने आधार प्रस्तुत गरेको कहीँ देखिँदैन । राजनीतिक दलमा लामो समय काम गरेको आधारमा आफूलाई महाधिवेशन प्रतिनिधि चयन गरिनुपर्ने सुगारटाइबाहेक केही देखिँदैन । भोलि स्थानीय, प्रदेश र राष्ट्रिय सरकार बनेपछि गरिने समाज रूपान्तरणको खाकाबारे कुनै छलफल भएको देखिँदैन ।

नेकपा एमालेले आफ्नो महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाइसकेको छ । नेकपा एमालेले आफ्नो विधान महाधिवेशनमार्फत आफ्नो राजनीतिक दर्शन नेपाली जनतामाझ सार्वजनिक गरिसकेको छ । नेकपा एमालेले बोक्ने राजनीतिक दर्शन माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद भनेर आफ्नो राजनीतिक दस्ताबेजमा स्पष्टसँग लेखिसकेको छ । यो राजनीतिक दर्शन बोकेको राजनीतिक दलले समाज रूपान्तरणको सूत्र उत्पादनमा रूपान्तरण गर्दै जाँदा मानिसको चिन्तनमा रूपान्तरण हँुदै जान्छ भन्ने आधारभूत भौतिकवादी दर्शन बोकेको छ । मानिसको जीवनस्तरको रूपान्तरण उसको आर्थिक धरातलको बदलावको कारणले मात्र सम्भव छ । मानिसको आर्थिक धरातलको रूपान्तरण उसले गर्ने उत्पादन प्रणालीको रूपान्तरणले मात्र सम्भव हुन्छ । मानिसलाई रूपान्तरण गर्न अर्थात् उसको चिन्तनमा रूपान्तरण गर्न उसको आर्थिक धरातलमा रूपान्तरण जरुरी हुन्छ । मानिसको आर्थिक अवस्थालाई रूपान्तरण नगरी उसको चिन्तनमा रूपान्तरण सम्भव हुँदैन । मानिसको चिन्तनको रूपान्तरणबिना उसको मानवीय गतिविधिको रूपान्तरण जस्ताको त्यस्तै रहन्छ । मानिस स्वतन्त्र जीव हो । उसले स्वतन्त्रतापूर्वक आफ्नो आर्थिक गतिविधि सञ्चालन गर्न पाइने उसको प्राकृतिक अधिकार हो । मानिसलाई औद्योगिक कारखानामा काम लगाउँदा उसको सिर्जनाशील मानवीय गुणलाई अझ माथि उठाउने र भोलिका दिनमा आफैँ स्वतन्त्र रूपले साना तथा मझौलाखाले औद्योगिक उत्पादन गर्न सक्ने स्वतन्त्र मानिसको निर्माण गर्ने दर्शन भनेको जनताको बहुदलीय जनवाद हो भनेर स्पष्ट पार्ने काम सम्पन्न गरिसकेको छ ।

नेकपा माओवादी पनि आफ्नो महाधिवेशन गर्ने चटारोमा छ । यो पार्टी आफूलाई उसको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद भनेर मान्दछ । नेकपा माओवादीको राजनीतिक चिन्तन अधुरो छ । कार्लमाक्र्सले युवा उमेरमा लेखेको र विश्वव्यापी बहसमा रहेको अलग्गिने दर्शन माओवादी पार्टीले बोक्दैन । मानिस सञ्चालनको केन्द्र माइन्ड हो वा मन हो यो पार्टीका कार्यकर्तालाई थाहा नै छैन । मानिस सिर्जनशील र चेतनशील जीव हो । यो पार्टीले मानिसको सिर्जनशीलता मानिस स्वतन्त्र अनुभव गर्दा प्रस्फुटन हुन्छ भन्ने मान्दैन । मानिसलाई बल प्रयोगबाट उसलाई भनेबमोजिम गराउन सकिन्छ भन्ने मान्यता बोक्दछ । हिजो विविध कारणले पछाडि पारिएका वर्ग समुदाय र जातलाई राजनीतिक पदमा पु¥याउन सकियो भने समाज त्यसै रूपान्तरण हुन्छ भन्ने दर्शन बोकेको छ । नेपाली समाजको रूपान्तरण विभिन्न अल्पसङ्ख्यक र पिछडिएका जाति तथा समुदायको एकाध प्रतिनिधिलाई सरकारमा वा राजनीतिक पद धारण गरेपछि पूरै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता बोकेको दल हो । कार्लमाक्र्सको उत्पादनमा रूपान्तरण नगरी चेतनामा रूपान्तरण हँुदैन भन्ने मान्यता यो दलले बोक्दैन । मानिसको चेतना बल प्रयोग गरेर रूपान्तरण हुन्छ भन्ने मान्यता बोक्दछ । यो सरासर माक्र्सवादी दर्शनमा ठूलो विचलन हो । माओवादी पार्टीले मानिसलाई स्वतन्त्र अस्तित्व बोकेको जीव मान्दैन । मानिसको शरीरमा बल प्रयोग गरेर मानिसको चिन्तनमा बदलाव ल्याउन सकिन्छ भन्ने मान्यता कुनै राजनीतिक दर्शनमा छैन ।

महाधिवेशन प्रतिनिधि कस्तो हुनुपर्छ ?
राजनीतिक दलको महाधिवेशनमा राजनीतिक दर्शनको छलफल हुनुपर्दछ । राष्ट्रिय महाधिवेशनका प्रतिनिधि राजनीतिक नेतृत्व लिने मात्र होइन राजनीतिक दर्शनको ज्ञान भएका हुनु अनिवार्य हुन्छ । राजनीतिलाई दर्शनको जगमा उभ्याउन राजनीतिक दर्शनको ज्ञान भएका कार्यकर्ता जन्मनु अनिवार्य सर्त हो । दलको महाधिवेशनमा राजनीतिक दर्शनको चर्चा नहुनु भनेको राजनीतिक दल दर्शनशून्य कार्यकर्ताले भरिँदै गएको सङ्केत हो । हिजोका पुराना पुस्तामा राजनीतिक दर्शनको जगमा राजनीति गर्ने एउटा परम्परागत मान्यता नै थियो । नेपाली काङ्ग्रेसको बिपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, नेपाल कम्युनिस्ट पार्टीमा पुष्पलाल, मनमोहन, मदन भण्डारीजस्ता व्यक्ति राजनीतिक दर्शनको जगमा राजनीति गर्दथे । आजका नयाँ पुस्ताका राजनीतिक भाषा र तिनका भाषणमा कहिले कतै पनि राजनीतिक दर्शनको व्याख्या भेटिँदैन । राजनीतिमा आदर्शवाद र भौतिकवादको चर्चा कहीँ कतै हँुदैन ।

राजनीतिमा लागेका पुराना पुस्तालाई तिनका अघिल्लो पुस्ताले राजनीतिक दर्शन सिकाएका होइनन् । राजनीतिका पुराना पुस्ताले राजनीतिक दर्शन आफैँ सिकेका र जानेका हुन् । आजको अधिकांश नयाँ पुस्तामा राजनीतिक दर्शनको कुनै चेत नै छैन । न त यसको आवश्यकता नै महसुस भएको छ । कम्तीमा राजनीतिक दलले आफ्नो महाधिवेशनमा राजनीतिक दर्शनको चेत बढाउने किसिमले आफ्नो महाधिवेशन सम्पन्न गर्ने चेष्ठा मात्र गर्ने हो भने राजनीतिक समाज बदलिन्थ्यो । पार्टीको महाधिवेशन राजनीतिक दर्शनको छलफल गर्ने कुम्भ मेलाजस्तो बनाउन महाधिवेशन प्रतिनिधि पनि दर्शनको ज्ञान भएका हुनुपर्ने हुन्छ । राजनीतिक दलका महाधिवेशनका अधिकांश युवा पुस्ताका प्रतिनिधिलाई आफ्नो दलको राजनीतिक दर्शनको एक पन्नाको कथा लेख्न पनि आउँदैन । राजनीतिक दर्शनबिनाको राजनीतिक कार्यकर्ताले समाज रूपान्तरण होइन, आफ्नै मात्र रूपान्तरण गर्ने छन् । राजनीतिक दलका महाधिवेशन नेतृत्व चयन गर्न भोट हाल्ने र दुई दिन भात खाने उद्योग वाणिज्य सङ्घको महाधिवेशनजस्तो मात्र नहोस् ।


प्रतिक्रिया दिनुहोस्