स्वास्थ्य आपूर्ति श्रृंखला व्यवस्थापनको पहिलो कोर्स सञ्चालन « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

स्वास्थ्य आपूर्ति श्रृंखला व्यवस्थापनको पहिलो कोर्स सञ्चालन



काठमाडौं । जन–स्वास्थ्य एवं सामुदायिक चिकित्सा विभाग, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले राष्ट्रिय गैर नाफामुखी संस्था जि. टि. ए. फाउन्डेसनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा स्वास्थ्य आपूर्ति श्रृंखला व्यवस्थापनको पहिलो कोर्स सञ्चालन गरेको थियो । यस कोर्सले नेपालमा स्वास्थ्य आपूर्ति श्रृंखलाको निम्ती जनशक्ति विकास गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्यमा सहयोग पुग्ने भएकाले यसलाई मन्त्रालयको अनुमोदन र उचित समर्थन छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको प्रेरणादायी र मार्गदर्शी मन्तव्य र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलको शुभकामनाका साथ यो कोर्स इ.सं. २०२१ नोभेम्बर १९ गते सुरु भएको हो ।

धुलिखेल अस्पताल, जन–स्वास्थ्य विभागका निर्देशक डा. विराज मान कर्मचार्य र जि. टि. ए फाउन्डेसनका कार्यकारी निर्देशक दीपक बज्राचार्यले विभिन्न सेवाहरू (प्रान्तीय स्वास्थ्य सामग्री व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरू) मा आबद्ध र स्नातकोत्तर तहका विद्यार्थीहरू (एम्. एस्. सी. पी. एच् , एम्. एस्. सी नर्सिङ) बाट आएका सबै सहभागीहरूलाई स्वागत र बधाई दिनुभएको थियो ।

स्वास्थ्य आपूर्ति श्रृंखला व्यवस्थापनमा विशेषज्ञता र दशकौंको विश्वव्यापी अनुभव भएका कोर्स निर्देशक श्याम लामाले सहजकर्ताहरूलाई प्रशिक्षकहरुलाई दिइने प्रशिक्षण (टि. ओ. टि) मार्फत् अभिमुखीकरण गर्नुका साथै कोर्स डिजाइन पनि गर्नु भयो । उहाँले सहभागीहरूलाई स्वागत् गर्दै उनिहरुलाई कोर्स र कोर्सको सार बुझाउनुभयो । उहाँले उक्त कोर्सकै क्रममा संसाधन अभावका अवस्थाहरूमा स्वास्थ्य आपूर्ति श्रृंखला प्रबन्धका आफ्ना अन्तर्राष्ट्रिय अनुभवहरू पनि सहभागीहरू समक्ष बताउनु भएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यको सन्दर्भ दिँदै विभिन्न महत्वपूर्ण मोड्युलहरु मार्फत् स्वास्थ्य आपूर्ति श्रृंखलाका आधारभूत तत्वहरु अवगत गराइयो । फिल्डवर्क, कोर्समा समावेश गरिएको एउटा यस्तो अंश हो जसले विद्यार्थी÷सहभागीहरूलाई विद्दमान चुनौती, वास्तविकता र स्वास्थ्य आपूर्ति श्रृंखलाले स्वास्थ्य कार्यक्रममा खेल्ने भूमिका बुझ्न मद्दत गर्दछ ।

प्रि सर्भिस र इन सर्भिसको सहभागिता, सामूहिक कार्य, छलफलका साथै विशेषज्ञहरू र प्रणालीहरूको व्यवस्थापन गर्नेहरूबाटै शिक्षा लिने अवसरका साथमा पाँच दिने अन्तरक्रियात्मक कोर्स सफलतापूर्वक सम्पन्न भएको छ र यसले सहभागीहरू बीचमा व्यापक समझदारीको विकास गर्नुका साथै उनीहरूलाई स्वास्थ्य कार्यक्रमको स्वास्थ्य आपूर्ति श्रृंखला व्यवस्थापनमा अर्थपूर्ण भूमिका खेल्ने अवसर प्रदान पनि गरेको छ । उक्त कोर्स काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज, धुलिखेल, काभ्रेमा सञ्चालन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्