खल्तीमा भएको पैसा हरायो, खोज्नुपर्ने बेला आयोः अर्थमन्त्री शर्मा « Arthapath.com
१८ जेष्ठ २०७९, बुधबार

खल्तीमा भएको पैसा हरायो, खोज्नुपर्ने बेला आयोः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले खल्तीमा भएको पैसा हराएको बताएका छन् । बजारमा तरलता अभाव भईरहेका बेलामा पूँजी नआउनुमा शंका गरेका छन् । नेपाल आर्थिक संघले गरेको बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले खल्तीमा भएको पैसा हराएकाले खोज्नुपर्ने बेला आएको बताएका हुन् । उनले भने, ‘बजारमा तरलताको अभावमा पूँजी परिचालन भैरहेको छ । खल्तीमा भएको पैसा कता हरायो ? कता अडकियो भनेर खोज्नुपर्छ । बजारमा पैसा किन आइरहेको छैन्, कुन क्षेत्रमा लगानी भइरहेको छ भनेर विवरण हामीले खोज्नुपर्छ ।’

साथै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा कृषिलाई प्राथमिकतामा राखेको बताए , साथै उनले बजेटले निर्यात प्रोत्साहन गर्ने दाबी गरेका छन् । ‘निर्यातको रूपान्तरणका लागि नयाँ भिजनका साथ बजेट आएको छ । सरकारले ल्याएको योजनाहरू कार्यन्वयन हुन्छ हुदैन भनी अर्थशास्त्र, विज्ञ, सञ्चारकर्मी तथा सर्वसाधारणले आवाज उठाउनु पर्छ ।’ जनताले बनाएको बजेट कार्यन्वयनका लागि सबैले आवाज उठाउनुपर्ने र सरकारी तहबाट हुने सबै सहयोग गर्न आफू तयार रहेको छु ।’ 

बजेटमा आफ्नो क्षमताले भएको सबै कुरा समावेश गरेका बताए । समाजका सबै पक्षसँग छलफल गरी बजेट निर्माण गरेकाले कार्यान्वयनमा जोड दिनुपर्ने अर्थमन्त्री शर्मा बताउँछन् । ‘हामीसँग जे छ त्यो नखोज्ने, नभएको कुरा खोज्ने अनि कसरी हुन्छ, हाम्रा पहाडभित्र ढुङ्गा, धातु लगायत सबै छन्, निकाल्नु पर्छ । हाम्रा जङ्गलमा रूख कुहाएर फाल्ने, अनि मलेसिया, चीनबाट काठ ल्याउने हो ? नदीमा पानी बगरिहेको छ ।  त्यहीको ढुङ्गाले तटबन्धन बनाउन सकिन्न ? विद्युत र सिमेन्टलाई लक्षित गरी बजेटले निर्यातलाई प्रोत्साहन गरिरहेको छ ।’ उनले भने, ‘विदेशी मुद्रा ल्याउनु छ भने अनुदान किन नदिने ? अनुदान दिँदा अझ प्रतिस्पर्धी हुन्छ भने किन नदिने ? ।’

श्रमलाई उत्पादनमा बदल्नुपर्ने मन्त्री शर्मा बताउँछन् । उनले  बजेट सम्बोधन गर्ने किसिमको मौद्रिक नीति आउने अपेक्षा गरेका छन् । बजेटमा निर्यात गर्ने उद्योगलाई राज्यले सक्ने जति छुट दिएको उनको भनाई छ । शर्माले भने, ‘भारतले चिनी रोक्यो आत्तिनु पर्दैन । ६ महिनामा उखु तयार हुन्छ । चिनी मिल हामीसँग छ, आत्तिनु पर्दैन । धानको बीउ ल्याएर तत्काल सुरु गरौँ । यसको अध्ययन हुँदैछ । सकेसम्म छिटो गर्ने प्रयास गरेका छौं ।’

पूँजी बजारमा सम्बन्धी बजेटमा केही कुरा नसमेटिएको गुनासो बारे बोल्दै अर्थमन्त्री शर्माले भने, ‘पूँजी बजारमा एआरएनए र श्रमिकहरूलाई निश्चित आरक्षण दिने कुरा सकारात्मक होइन र ? अब थप मौद्रिक नीतिले यसलाई समेट्ने छ ।’ 


प्रतिक्रिया दिनुहोस्