पेट्रोलियम पदार्थको मूल्य बढ्यो, १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड रुपैयाँ घाटा « Arthapath.com
१९ जेष्ठ २०७९, बिहीबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड रुपैयाँ घाटा



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेर आएको छ भने खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

नेपाल आयल निगमले प्राप्त गरेको नयाँ मूल्य सूचीअनुसार ८ रुपैयाँ २१ पैसा र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । तर डिजेलमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेर आएको छ ।

त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।

नयाँ मूल्य सूची अनुसार अब पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा १९.७३ रुपैयाँ, एलपी ग्यासमा ७५१.१४ रुपैयाँ घाटा हुने निगमले जनाएको छ । यता हवाई इन्धन र मट्टितेलमा भने केही नाफा हुने छ । समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी हुने सहप्रवक्ता पुस्कर कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस्