इच्छाराज तामाङलाई १० करोड धरौटीमा छाड्न न्यायाधीश र अधिवक्ताबीच २ करोडको बार्गेनिङ « Arthapath.com
८ असार २०७९, बुधबार

इच्छाराज तामाङलाई १० करोड धरौटीमा छाड्न न्यायाधीश र अधिवक्ताबीच २ करोडको बार्गेनिङ



काठमाडौं । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्नका लागि न्यायाधिशलाई २ करोड रुपैयाँ घुस दिने अडियो काण्ड सार्वजनिक भएको छ । इच्छाराज तामाङ्लाई छाड्नका लागि नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो सार्वजनिक भएको हो ।

उक्त अडियो टेपमा पूर्व कोषाध्यक्ष पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस दिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका हुन् ।

सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका तामाङको मुद्धामा थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका थिए । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् ।

तर न्यायाधीश कोइरालाले नलिने बताउँदै मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ भन्ने लगायतका कुरा गरिरहेको अडियोमा सुनिन्छ । तर अधिवक्ता पोखरेलले भने त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने आश्वासन दिएका छन् ।

२०७८ पुसमा घुसको डिल भएको हो । उनीहरुबीच लगभग १० मिनेट कुराकानी भएको छ । न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन पनि दिएका छन् । व्यवसायी इच्छाराज तामाङ गत पुस १४ गते पुर्पक्ष्यका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । उनी ७ महिनादेखि थुनामामै छन् ।


प्रतिक्रिया दिनुहोस्