पद, पैसा र शक्ति अस्थिर हुन् « Arthapath.com
१४ श्रावण २०७९, शनिबार

विचार/लेख

पद, पैसा र शक्ति अस्थिर हुन्



मञ्जु तामाङ
हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको मन आनन्दी मनले (लक्ष्मीप्रसाद देवकोटा)

डोमिनिकन गणतन्त्रका इन्स्ट्राग्राम ब्लगर किर्जायदा रोड्रिगेजको पेटको अर्बुदरोगबाट सन् २०१८ मा निधन भएपछि उनले ब्लगमा लेखेका कुरा प्रेरणाका रूपमा संसारका धेरैले सामाजिक सञ्जालमा पोस्ट गरे । धेरैले जीवन–भोगाइबारे अनुभव लिइरहेका छन् । चौथो चरणको क्यान्सर निदान भएर उपचार जारी हुँदा उनी आफ्ना फलोअर्ससँग आफ्नो उपचारबारे बोल्न धक मान्दिनथिन् । दश महिना क्यान्सरसँग लडेर हारेकी ४० वर्षीया फेसन डिजाइनर रोड्रिगेज केमोथेरापी ट्रिटमेन्ट र आफ्नो झरिरहेको कपालबारे ब्लगमा पोस्ट गरिरहन्थिन् । उनी आफ्नो अन्तिमअवस्थामा पनि फेसनप्रतिको लगावबारे सूक्ष्म रूपमा बताइरहन्थिन् ।

उनले क्यान्सरसँगैको जिन्दगीले आफूलाई जीवनका स–साना कुरामा पनि सम्मान गर्न सिकाएको कुरा लेखिरहन्थिन् । केमोथेरापीबाट आफूले चाहेजस्तो सुधार नभएको ठानी उनले गत अगस्टमा उपचारलाई रोक्न चाहेकी थिइन् । ‘केमोथेरापी उपचार रोक्न सके म मेरा परिवार र साथीसँग दुखाइमुक्त भएर रमाइलोसँग समय बिताउन सक्थेँ,’ उनले भनेकी थिइन् । पाँच लाखजति फलोअर्स भएकी एक सन्तानकी आमा उनी जीवनमा सबभन्दा महत्वपूर्ण कुरा ‘प्रेम’ नै भएको भनिरहन्थिन् ।

बाहिर मेरो नयाँ ब्रान्डको कार पार्किङ गरिएको छ जसले मेरा लागि अब केही गर्दैन, मसँग सबै किसिमका डिजाइनका लुगा, जुत्ता र झोला छन् जसले मलाई काम गर्दैनन्, मेरा बैंकखातामा पैसा छ त्यो पनि काम लाग्दैन र मसँग ठूलो सजिसजाउपूर्ण घर छ, त्यसले पनि केही काम गर्दैन । हेर्नाेस्, अहिले म एउटा ३५–३८ इन्चको हस्पिटल बेडमा छु, म हप्ताको कुनै दिन हवाईजहाज लिएर जहाँ पनि जान सक्थेँ, अब काम गर्दैैन, …त्यसैले कसैलाई पनि नराम्रो भावना आउन नदिनु, सबैसँग खुसी हुनु । तपार्इंको एउटा छाना भएमा घरभित्र के–के फर्निचर छन् भनी कसले भन्ला र……जीवनको सबभन्दा ठूलो नै माया हो । आफूले माया गरेकासँग नै रमाइलो गर्न सकिने कुरा सुनिश्चित गर्नुहोस् । सेप्टेम्बर ९ मा उनलाई माया गर्नेहरूले रोग लागेको एक वर्षभन्दा कममा नै उनी बितेको घोषणा गरे । रोड्रिगेज फेसनप्रतिका रूपमा मात्र होइन, उनको सकारात्मक सोचाइ र जीवनशैलीको प्रभावका कारणले पनि सम्झिइरहन्छिन् ।

एउटा ब्लगमा भनिएको थियो– म एक फाइभ स्टार होटेलबाट अर्को फाइभ स्टार होटेलमा जाने गर्थेँ, तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेकी छु ।
– मैले सयौँ मानिसलाई अटोग्राफ दिएकी छु, तर आज डाक्टरको प्रेस्क्रिप्सन नै मेरा लागि अटोग्राफ भएको छ ।

– मेरो कपाललाई सजाउन मसँग सातजना ब्युटिसियन थिए, तर आज मेरो टाउकामा एउटा पनि कपाल छैन ।
– विश्वमा कैयौँ प्रकारका खाद्यान्नमा मेरो पहुँच छ, तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ । यो घर, यो कार, यो जेट, यो फर्निचर, यति धेरै बैंक खाता, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यिनीहरू अब मेरा लागि कुनै कामका छैनन् । यीमध्ये कुनैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् ।

– साथीहरू, मृत्युभन्दा अधिक सत्य केही पनि छैन अनि किन गर्छन् मान्छे सम्पत्ति, पद, पढाइ र सुन्दरताको घमण्ड ?

संसारका सबैभन्दा धनी भनिएका मानिसको पनि जाने बाटो त्यही हो । मनुष्य जीवन सत्कर्मका लागि हो, परोपकारका लागि हो । मान्छेको उद्देश्य दुःखबाट मुक्ति हो र सुख पाउनु हो । त्यसैले धनको घमण्ड गर्नेले रोड्रिगेजको जीवनी र उनका ब्लग पढ्नु नै जाती हुनेछ । पद, पैसा र शक्तिको उपयोग अरूका कल्याणका लागि नै गर्नुपर्छ । धनका कारणले भन्दा त्यागका कारणले नाम कमाएका मानिस नै हाम्रा प्रेरणास्रोत हुन् ।

(लेखक ः विनपा–७ तुप्चे, नुवाकोट, हाल ः अस्ट्रेलिया सिड्नीको स्थायीवासी हुन् ।)


प्रतिक्रिया दिनुहोस्