नेपालको अन्तर्राष्ट्रिय व्यापार इतिहासकै उच्च, यी हुन् ठुला साझेदार  « Arthapath.com
३ आश्विन २०७९, सोमबार

नेपालको अन्तर्राष्ट्रिय व्यापार इतिहासकै उच्च, यी हुन् ठुला साझेदार 



काठमाडौं । गत आर्थिक वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापार ऐतिहासिक उचाइमा पुगेको एउटा प्रतिवेदनले देखाएको छ । वैदेशिक व्यापारको ग्राफ इतिहासकै पहिलो पल्ट अर्थतन्त्रको ४३.७ प्रतिशत पुगेको छ । दुई वर्षअघि कोभिडका कारण कुल गार्हस्थ्य उत्पादनको ३३ प्रतिशतसम्म झरिसकेको अन्तर्राष्ट्रिय व्यापारको आकार त्यसपछिका वर्षमा उकालो लागेको हो । २०४६ सम्म नेपालको धेरै हदसम्म आत्मनिर्भर थियो । त्यस बेला वैदेशिक व्यापारको आकार अर्थतन्त्रको २२ प्रतिशत मात्रै थियो । प्रजातन्त्र स्थापनापछि मुलुकको आयात ह्वात्तै चुलिएको देखिन्छ । 

गत वर्ष २ खर्ब ३ करोडको निर्यात र १९ खर्ब २० अर्बको आयात भएको छ । यसरी कुल अन्तर्राष्ट्रिय व्यापार २१ खर्ब २० अर्ब ४८ करोड हाराहारी पुगेको छ । गत साल नेपालले भारत, चीन, इन्डोनेसिया, अमेरिका, संयुक्त अरब, अर्जेन्टिना, अस्ट्रेलिया, युक्रेन, मलेसिया र ब्राजिलबाट बढी सामान आयात गरेको छ । थाइल्यान्ड, क्यानडा र बङ्गलादेशबाट पनि नेपालले १० अर्बभन्दा बढीको वस्तु आयात भएको छ । 

निर्यातका लागि पनि नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार भारत नै हो । त्यसपछि दोस्रोमा अमेरिका र तेस्रोमा जर्मनीले नेपालबाट धेरै सामान किनिरहेको छ । टर्की, बेलायत, फ्रान्स, अस्ट्रेलिया, इटली, क्यानडा र जापान पनि नेपालबाट सामान किन्ने मुख्य १० देशको सूचीमा पर्छन् । हामीले धेरै सामान किन्ने गरेको चीन भने नेपालबाट खासै केही किनिरहेको छैन । 

नेपालले गत वर्ष संसारका १७२ देशसँग व्यापार गरेको देखिन्छ । यसमध्ये जम्मा ३१ देशसँग नेपालको वैदेशिक व्यापार नाफामा छ । नेपाल सबैभन्दा धेरै नाफामा भएको मुलुक डेनमार्क हो । यो युरोपेली देशबाट नेपालले जम्मा ५४ करोडको सामान किने पनि नेपालबाट ७६ करोडको सामान निर्यात भएको छ । यसपछि कम्बोडिया, अल्जेरिया, नाइजेरिया, गिनी, न्यु सेलेडोनिया, माल्दीभ्स, अफगानिस्तान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र यमन नेपालका लागि सकारात्मक व्यापार साझेदार देखिएका छन् । 

विश्व व्यापार भने कमजोर

विश्व बैंकले हालै मात्र सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२० मा संसारभरको कुल अन्तर्राष्ट्रिय व्यापारको आकार विश्व अर्थतन्त्रको ५२.१ प्रतिशत पुगेको उल्लेख गरेको छ । सन् २०१२ मा विश्व अर्थतन्त्रको ६० प्रतिशत नजिक पुगिसकेको अन्तर्राष्ट्रिय व्यापार त्यसपछि जिडिपीको अनुपातमा भने खस्किएको छ । २००७ पछि सुरु भएको वित्तीय संकटबाट बाहिर आएपछि २०१३ बाट व्यापार युद्ध सुरु भएको थियो । त्यसपछि सन् २०१७ सम्म अन्तर्राष्ट्रिय व्यापारको अनुपात लगातार ओरालो लाग्यो । २०१७ मा अमेरिका र चीन दुवै देशले रणनीतिक परिवर्तन ल्याए । 

चीनले ‘सिल्क रोड’ परियोजनालाई ‘वान बेल्ट, वान रोड’मा विकास गर्‍यो र अमेरिकाले ‘एमसीसी’ तथा एसिया प्यासिफिक रणनीति तर्जुमा गर्‍यो । अन्तर्राष्ट्रिय व्यापार र भूराजनीतिले नयाँ स्वरूप लिन थालेपछि बढेको अन्तर्राष्ट्रिय व्यापार २०१९ सम्म फेरि ५८ प्रतिशत नजिक पुग्दै थियो । त्यही बेला कोभिडको लहर सुरु भएपछि विश्व व्यापार कमजोर भएको हो ।


प्रतिक्रिया दिनुहोस्