बीमा संस्थान र कम्पनीलाई ७ वर्षको लेखा परीक्षण सक्न अर्थमन्त्रीको तीन महिने अल्टिमेटम « Arthapath.com
१६ माघ २०७९, सोमबार

बीमा संस्थान र कम्पनीलाई ७ वर्षको लेखा परीक्षण सक्न अर्थमन्त्रीको तीन महिने अल्टिमेटम



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानलाई लेखा परीक्षण सक्न तीन महिने अल्टिमेटम दिएका छन् ।

सोमबार अर्थमन्त्रालय सम्पन्न भएको बैठकमा अर्थमन्त्रीले पौडेलले यी दुवै कम्पनीलाई आगामी तीन महिनामा लेखापरीक्षण सकाउन निर्देशन दिएका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यी दुई कम्पनीलाई आगामी वैशाख १६ गतेभित्र लेखा परीक्षण सम्पन्न गराउन निर्देशन दिएका हुन् । मन्त्री पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय रहेको भन्दै आगामी २०८० साल वैशाख १६ सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि लेखा परीक्षण हुन बाँकी छ । कम्पनीहरुले मन्त्रालयको निर्देशन बमोजिम नै लेखा परीक्षणको कार्य अघि बढाउने जनाएका छन् । विगत आठ आवदेखि बाँकी रहेको लेखा परीक्षण आगामी तीन महिनामा सम्पन्न गर्न सम्भव नहुने कम्पनीले जनाएको छ । ‘एक आवको लेखा परीक्षण गर्नका लागि ४/५ महिना लाग्छ । तर, तीन महिनामा आठ आवको लेखा परीक्षण गराउन त प्राविधिक रुपमा पनि कठिनाई हुन्छ ।’– एक अधिकारीले बताए ।

उनका अनुसार मन्त्रालयको निर्देशन बमोजिम नै लेखा परीक्षणको कार्यलाई तिव्रताका साथ अघि बढाउने र सम्भव भएसम्म छिट्टै सकाउने बताए । उनले भने,–‘एक आवको लेखा परीक्षणको स्वीकृति आएपछि नै अर्को आवको सुरु हुन्छ, तर स्वीकृतिमै ढिलाई हुनोले पनि लेखा परीक्षण्को काम रोकिने गर्छ । यसकारणमा ढिला हुने गरेको हो । ’

बैठकमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्