‘मातृभुमिको सौदा गर्न सक्दिन, नेपाली बाहेक मसंग अरु देशको नागरिकता छैन’ : अध्यक्ष हमाल « Arthapath.com
२३ माघ २०७९, सोमबार

‘मातृभुमिको सौदा गर्न सक्दिन, नेपाली बाहेक मसंग अरु देशको नागरिकता छैन’ : अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले दोहोरो नागरिकता नभएको बताएका छन् ।

सोमबार बोर्डको कार्य सम्पादन, निष्कासन अनुमति प्रक्रिया र विद्यमान अवस्था सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन ।

दोहोरो नागरिकता लिएको भन्ने भ्रामक समाचार रहेको भन्दै उनले आफ्नो चरित्र हत्या गर्ने काम भईरहेको बताए । उनले भने,–‘म अहिले ५५ वर्षको भए, म चुनौतिका साथ भन्छु, मैले हालसम्म गरेका कामहरु हेुर्नहोस्, मैले नेपाल विद्युत प्राधिकरणमा ८ वर्ष काम गरेको छु, विश्वका १२ वटा मुलुकरुमा काम गरेको छु, सरकारी तथा प्राइभेट दुवैको अनुभव पनि छ । त्यो अवधिमा र आजसम्म पनि कुनै ऐन विपरित काम गरेको छैन । त्यो प्रमाण ल्याउनुहुन्छ भने टुडिखेलमा झुण्डिन तयार छु ।’

उनले करिब २० वर्ष देखि विदेशमा रही विज्ञको रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरको बताए । उनले भने,–‘मातृभुमिको सौदा गर्दिन, मसंग नेपाली बाहेक अन्य कुनै देशको नागरिकता छैन। दोहोरो नागरिकता लिन अरुको देशमा बसेको होइन । चरित्र हत्या गर्ने नाममा कुनै व्यक्तिको आधारहिन आरोप लगाएर हुँदैन, यो कानुनी राज्य हो, कानुनले न्याय गर्छ अरुले गर्ने होइन ।’

उनले थपे,–‘मैले कुनै पनि काल खण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन, दोहोरो नागरिकतामा कहिँ पनि शंका छ भने पत्रिकामा होइन अदालत जाने हो ।’

उनले नेपाली बाहेक अन्य कुनै पनि देशको नागरिकता नरहेको बताए । ‘हामीसंग गल्ती भएका छन् भने हामी कहाँ आउनुपर्यो, अनुसन्धान गर्नुपर्यो, र नागरिकताको विषयमा तपाईहरु विस्वस्त हुनुहोस्, म संग नेपाली बाहेक अन्य कुनै पनि देशको नागरिकता छैन’–अध्यक्ष हमालले भने ।


प्रतिक्रिया दिनुहोस्