क्यासिनोमाथी सरकारी कडाई, अब एउटै कम्पनीले धेरै क्यासिनो चलाउन नपाउने « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

क्यासिनोमाथी सरकारी कडाई, अब एउटै कम्पनीले धेरै क्यासिनो चलाउन नपाउने



काठमाण्डौं । धेरै क्यासिनो चलाउने कम्पनीले कानुन अनुसार एउटा मात्र क्यासिनो चलाउन पाउने नियमका कारण अन्य क्यासिनो बन्द गर्नु नपर्ने भएको छ । सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई संसदमा दर्ता गरेको छ । जसमा पर्यटन ऐनमाथि संशोधन गर्दै यस्तो प्रावधान ल्याउन लागिएको हो ।

एउटा कम्पनीले एउटा मात्र क्यासिनो सञ्चालन गर्न पाउने नियम अनुसार आफूले रोजेको क्यासिनो चलाउने गरी कम्पनीले रोज्न सक्ने अवधि २०८० असार मसान्तसम्मलाई तोकिएको छ । रोजेको बाहेकका अन्य क्यासिनो चलाउने भए २०८१ साल असार मसान्त भित्र अलग अलग कम्पनी खडा गरी इजाजत लिने निवेदन दिन सक्ने गरी प्रावधान राखिएको छ ।

विभागबाट दिइने स्वीकृति अब मन्त्रालयबाट
क्यासिनो सञ्चालन गर्नुअगाडि लिनुपर्ने पूर्वस्वीकृति यसअघि पर्यटन विभागबाट लिनु पर्ने प्रावधान थियो । यसलाई अब पर्यटन मन्त्रालयबाट स्वीकृति लिनुपर्ने गरी प्रावधान बनाइएको छ । पूर्वस्वीकृति लिन चाहने व्यक्तिले तोकिएको स्तरको होटल वा रिर्सोटले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति, तोकिए बमोजिमको विवरण, कागजात र दस्तुरसहित पर्यटन मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । यस्तो निवेदनको मूल्यांकन गरी पूर्वस्वीकृति दिने काम पर्यटन मन्त्रालयले गर्ने भएको छ ।

इजाजत पत्र दिने काम समेत अब विभागबाट मन्त्रालयमा सारिएको छ । त्यसका लागि कम्पनीले मन्त्रालयमा निवेदन दिनु पर्ने भएको छ । इजाजत पत्रको निवेदन मूल्यांकन गरी दिने काम समेत मन्त्रालयको हो ।
इजाजत पत्रको अवधि एक आर्थिक वर्षको हुनेछ । इजाजत पत्र नवीकरण गर्न ३० दिन अगाडि नै निवेदन दिनु पर्ने प्रावधान समेत तोकिएको छ । नवीकरण नगराए इजाजत स्वतः रद्द हुने भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्