गाँजाको अर्थशास्त्रः नेपाली समृद्धिको सशक्त आधार « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

गाँजाको अर्थशास्त्रः नेपाली समृद्धिको सशक्त आधार



आरजी बिद्रोही
विश्वव्यापी लागूऔषधको सूचिमा राखी प्रतिबन्धित भनिएको गाँजाका विविध आयामहरुका विषयमा विभिन्न कोणहरुबाट वर्षैँदेखि नेपालमा यसको बहस भइरहेको छ । हिन्दूहरुको विषेश पर्व आज महाशिवरात्रीका दिनको सन्दर्भले यसको चर्चा र बहसलाई झनै सान्दर्भिक बनाइदिएको छ । धार्मिक, स्वास्थ्य तथा चिकित्सा विज्ञान र आर्थिक दृष्टिकोणले यसको बहुआयामिक हमत्व र उपयोगिता भएको तथ्य र तर्कहरु पनि भइरहेकै छन् । नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्छ भनी सार्वजनिक सञ्चारमाध्यममा चार वर्ष अगाडि देखि बहस शुरू भएको थियो । तर यसबारे अझै बहुआयामिक बहस हुन जरूरी छ । जे जति भएका छन्, सामाजिक र कानूनी पक्षको चर्चा बढी हुने गरेको छ ।

गाँजा खेतीबाट हरियाली वातावरण संरक्षण हुने र यसले जलवायु परिवर्तनलाई समेत न्यूनीकरण गर्ने, अमेरिका र क्यानडाका केही राज्यमा गाँजा खेतीलाई कानुनी मान्यता पाएको बताउँदै नेपालले पनि यसको व्यावसायकीकरण गर्नुपर्ने तर्क बलियो बन्दैछ । गाँजा कुनै बेला नेपालको ग्रामीण अर्थतन्त्रकै मेरुदण्ड थियो । त्यसैले अब गाँजा खुल्ला गर्दा कृषकहरू धनी हुन्छन् भन्ने तर्क पनि सुनिन्छ । कतिपय भने गाँजा अफिसबाट लाभ लिने भनेको तस्कर, दलालले मात्रै हुने बताउँछन् । त्यसमा क्यानडा पछिल्लो देश हो, जहाँ केही महीना अघि मात्र औषधि र मनोरञ्जनका लागि गाँजाको सेवन र बिक्री–वितरण खुला गर्ने कानून संसदबाट पारित भएको छ ।

क्यानडामा सन् १९२३ देखि गाँजा प्रतिबन्धित थियो । उक्त प्रतिबन्ध आंशिक हटाउँदै सन् २००१ मा गाँजालाई औषधि प्रयोजनमा खुला गरिएको थियो । अब भने प्रान्त र नगरपालिकाहरूमा गाँजा बिक्री–वितरण केन्द्र स्थापना हुनेछन् भने एक परिवारले गाँजाका चार वटासम्म बोट रोप्न पाउनेछन् । गाँजा सेवन र किनबेचका लागि १८ वर्षको उमेरसीमा तोकिएको छ । यसको नियमन गर्ने कानून बनाउने अधिकार प्रान्तहरूलाई दिइएको छ ।

नेपालमा कुनै बेला परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । सदियौंदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो। सिंहदरबार वैद्यखानादेखि पुस्तैनी वैद्यहरूले समेत ती औषधि चलाउँथे । सन् १९७० दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्धित भएपछि औषधि उत्पादन हुन छाडे। आयुर्वेदिक अनुसन्धान पनि बन्द भयो । आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा देखिन्छ । वैद्यखाना आफैंले गाँजाजन्य ओखती उत्पादन गर्थ्यो । निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको वैद्यखानाको रेकर्डमा छ ।
नेपालको आर्थिक तथा सामाजिक विकासका लागि गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर व्यावसायिक खेती गर्नुपर्ने आवश्यकता देखिएको छ । गाँजामाथि प्रतिबन्ध फुकुवा गरी यसलाई समृद्धिको मुद्दासँग जोडेर जानुपर्छ । कुनै समय एक अमेरिकी डलर बराबर नेपाली ६ रुपैयाँ हुन्थ्यो । आज १ सय ३५ रुपैयाँ पुगेको छ । उनीहरूले हामीसँग भएको प्राकृतिक स्रोतमाथि प्रतिबन्ध लगाएर त्यसको उत्पादन आफैंले गरिरहेका छन् । यसरी हामी झन्पछि झन् गरिब र उनीहरू धनी भइरहेका छन् ।
२०३३ सालअघि नेपालमा गाँजाको कारोबार खुला थियो । त्यसपछि कानुन बनाएर लगाएको प्रतिबन्धको ४३ वर्षपछि गाँजा फुकुवाको आवाज संसदमा उठेको हो, जसको खुलेर विरोध गर्नेहरू खासै देखिएका छैनन् ।

नेपाली गाँजाको बजार, अपार व्यापार
‘यहाँ गाँजा र चरेस पाइन्छ ।’ प्रतिबन्ध हुनुअघिसम्म वसन्तपुर, झोंछे एवं ठमेल क्षेत्रमा यस्तै साइनबोर्ड देखिन्थे । त्यतिबेला पान–सुपारी जस्तै गाँजाको बेचबिखन हुन्थ्यो । खुलमखुला, निर्वाध । गाँजाको धुँवामा मन–मग्न हुनकै लागि पश्चिमा मुलुकका तन्नेरीहरू नेपाल भित्रिन्थे । त्यससँगै जिन्स, गिटार र पप संगीत भित्रियो, जो हिप्पी संस्कृतिका रूपमा परिचित छ ।

त्यस समयको आसपास नेपालमा उत्पादित गाँजा दक्षिण एसियाली मुलुकमा निर्यात हुने गरेका विभिन्न तथ्यांक उपलब्ध छन् । २००८ सालमा खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० विगाहा जग्गामा गाँजाको खेती गर्न आह्वान गरेको थियो । त्यसअघि नागरिकले आफ्नो इच्छाअनुरूप गाँजा खेती गर्दै आएका थिए । १८७५ मा फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ द किङ्न्डम अफ नेपाल’ मा नेपालको गाँजा खेतीबारे पनि उल्लेख गरिएको छ । सो समयमा नेपालमा अत्यधिक मात्रामा गाँजा खेती हुन्थ्यो ।

यो नेपाली समाजको आर्थिक उपार्जनको एक माध्यम भएकोसमेत पुस्तकमा उल्लेख छ । नेपालको तराई–मधेशसँगै मध्य र पश्चिम पहाडका जिल्लामा प्रसस्त मात्रामा उत्पादन हुने गाँजा दोस्रो विश्वयुद्धदेखि विदेशमा ब्रान्डका रूपमा बिक्री वितरण सुरु भएको इतिहासमा उल्लेख छ । सन् १९६० को दशकमा स्वतन्त्रताको नारासहित हिप्पी युगको सुरुवात भयो । युरोप, ग्रीस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हिप्पी यात्रा नेपाल आइपुग्यो । हिप्पी ट्रेलमा गाँजाको अत्यधिक व्यापार हुन थालेपछि पश्चिमा देशले हिप्पी ट्रेलका देशलाई गाँजामा कडाई गर्न निर्देशन दिए । त्यसपछि नेपालले पनि २०१७ सालमा आएको नार्कोटिक महासन्धिमा हस्ताक्षर गरेर गाँजामाथि प्रतिबन्ध लगायो । हिप्पी बनेर नेपाल आएका अमेरिकीहरू आलू औषधमा लठ्ठिएर यतै बस्न थालेपछि अमेरिकाले नेपालमाथि यस्तो प्रतिबन्ध लगाउन दबाब दिएको थियो ।

मर्सी कप्र्सले आफ्नो रिपोर्टमा गाँजामाथिको सरकारी प्रतिबन्धलाई माओवादी जनयुद्धको एउटा कारण भएको उल्लेख गरेको छ । गाँजामा निर्भर रहेका परिवारमाथि प्रतिबन्धले आर्थिक संकट आएको र उनीहरू जनयुद्धमा होमिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘३० वर्षअघिसम्म नेपालको पश्चिम पहाडी भाग सम्पन्न क्षेत्र थियो । उनीहरूसँग वर्षभरिलाई चाहिने खाद्यान्न, नुन, तेल र परिवारका हरेक सदस्यका लागि एक जोडीभन्दा बढी लत्ताकपडा, चाँदीको सिक्काले बनेका हार र बाला, सुनका आभूषण किन्न पर्याप्त पैसा हुन्थ्यो ।’ त्यो पैसा उनीहरूले गाँजाको कारोबारबाट प्राप्त गर्ने गरेको प्रतिवेदनमा लेखिएको छ । जसअनुसार सन् १९३० को सुरुवातदेखि १९७० सम्म रेड जोन नेपाली गाँजाको प्रमुख उत्पादनकर्ता थियो, जसको गुणको विश्वभर चर्चा हुन्थ्यो । दोस्रो विश्वयुद्धको दौरान नेपाली गाँजा भारतमा प्रमुख निर्यात बनिसकेको थियो ।

रेड जोनका जंगलहरूमा नै गाँजाका बोटहरू उम्रन्थे भने कम जनसंख्या भएको उत्तरी रुकुमका सबै भाग, उत्तरी रोल्पाका धेरै जसो भाग र पूर्वी सल्यान र सुर्खेतका केही साना क्षेत्रहरूमा गाँजाका बोटहरू पाइन्थे । बोटका बोक्राहरू पारम्पिरक रूपमा डोरी बनाउन प्रयोग गरिन्थ्यो भने त्यसबाट निस्कने खस्रो रेशमलाई झोला र राम्रो रेशमलाई मगरहरूको पारम्परिक पहिरन बुन्न प्रयोग गरिन्थ्यो । गाँजाको दाना चट्नी र अचारको मसला बन्थ्यो । आजभन्दा ४३ वर्षअघि गाँजामाथि प्रतिबन्ध लागेपछि औषधिहरूको उत्पादनसँगै यसको निर्यात पनि बन्द भयो । गाँजा खेती र उत्पादन हुन छाड्यो ।

अहिले विश्वका ६५ भन्दा बढी देशले गाँजामाथिको प्रतिबन्ध हटाइसकेका छन् । छिमेकी देश भारतले गाँजा खेतीबाट वार्षिक ६ खर्ब आर्थिक उपार्जन गरिरहेको विभिन्न तथ्यांकले देखाएको छ । थाइल्यान्डमा पनि हालसालै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर औषधिका रूपमा प्रयोग गर्न तथा खेती गर्न खुला गरिएको छ । क्यानाडामा वि.सं. १९७९ मा प्रतिबन्धित गाँजा विं सं. २०५७ देखि औषधि प्रयोजनका लागि खुला गरियो । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले त हालसालै गाँजाको व्यक्तिगत प्रयोग र खेतीमा प्रतिबन्ध लगाउनु ‘नागरिकको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हुने’ फैसला गरेको थियो ।

नेपालले अमेरिका तथा युरोपेली देशको लहलहैमा लागेर यसरी गाँजामाथि प्रतिबन्ध लगाएको तर्क यतिबेला बहसमा छ । ती देशहरू आफैंले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुलाई त्यसको प्रमाण मानिएका छ । पश्चिमा देशहरूले गाँजामाथि प्रतिबन्ध लगाएर अन्य देशलाई दबाब दिएको थियो । अहिले उनीहरूले गाँजाखेती फुकुवा गरेर राम्रै आयआर्जन गरिरहेका छन् । हामी भने उनीहरूले देखाएको पुरानो बाटोमा हिँडेर राम्रै सम्भावना पनि गुमाइरहेका छौँ ।

गाँजाले मान्छेको स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । कतिपय रोगमा गाँजाले औषधिको काम गर्ने ती अनुसन्धानको निष्कर्ष छ । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता स्वास्थ्य समस्याको उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ । शल्यक्रिया गर्दा औषधिले बेहोस पार्न नसकिने बिरामीलाई गाँजाले लठ्याउन सकिने अनुसन्धानको निष्कर्ष छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको अनुसन्धानले गाँजालाई ९८ प्रतिशत औषधिजन्य वनस्पति हो भनेर प्रमाणित गरेको छ । यसको बोटानिकल नाम क्यानाबिस स्याटिवा हो । आयुर्वेदमा समेत गाँजाको औषधिय महत्व छ । आयुर्वेदका अनुसार गाँजालाई दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । औषधि बन्ने क्रममा २५ सय बढी औषधिमा कुनै न कुनै प्रकारले गाँजाको प्रयोग भइरहेको छ ।
गाँजाका उपयोगिताबारे आयुर्वेद क्याम्पस कीर्तिपुरमा पढाइसमेत हुन्छ । स्नातक तहका दिर्देगुण विज्ञान र भाव प्रकाश किताबमा गाँजाको आयुर्वेदिक उपयोगिताबारे प्रष्टरूपमा लेखिएको छ ।

गाँजाः नेपाली समृद्धिको बलियो आधार
अमेरिका लगायतका केही मुलुकले गाँजालाई लागू औषधका रूपमा दर्ज गरेका कारण त्यसको प्रभावमा नेपालजस्ता साना मुलुकहरू पनि गरे । त्यसो गरेबापत त्यतिबेला कसैले केही लाख डलर पाएको हुन सक्छन् । हजारौं वर्षदेखि धार्मिक, आयुर्वेदिक पक्षसँग जोडिएको वनस्पतिमा प्रतिबन्ध लाग्नु त्यतिबेलाको कुरा थियो । विश्वभर प्रतिबन्ध लागेको चिज हामीजस्तो मुलुकले खोल्ने कुरा पनि थिएन । तर, अहिले अमेरिका, क्यानाडा र जर्मनीलगायतका मुलुकले आफ्ना किसानलाई मकै, कपास खेती बन्द गरेर गाँजा खेती गर्न प्रोत्साहन गरिरहेका छन् । गाँजा उत्पादन गर्ने यस्ता मुलुक ६५ पुगिसकेका छन् ।

उनीहरूले गाँजाको खेती गरेर आर्थिक उपार्जन गरिरहेका छन् भने हामीलाई त यो कुरा प्रकृतिले नै दिएको छ । मेचीदेखि महाकालीसम्म तराई, हिमाल र पहाडमा गाँजा उत्पादन हुन्छ । प्रतिबन्धमा अगुवाइ गर्ने देशले यसलाई आम्दानीको स्रोत बनाइरहेको सन्दर्भमा हामीले पनि त्यही नियम, त्यही कानुन, त्यही सम्झौता र त्यही विधि प्रयोग गरेर हाम्रा गरिब किसानको आम्दानीको स्रोत किन नबनाउने ? गाँजाको उत्पादन गर्दा अब हामी एन्टी करेन्ट हुँदैनौं ।

अहिले सम्पन्न मुलुक र हामीजस्ता विकासोन्मुक मुलुकबीच ठूलो विभेद छ । सम्पन्नले हिजो प्रतिबन्ध लगाएर अहिले खेतीमार्फत डलर कमाइरहेका छन् भने हाम्रा किसान जेल जानु परिरहेको छ । शिक्षा, स्वाथ्य, मानव अधिकारको चिन्ता गर्ने मुलुकहरूले आफ्नो कानुन र नियमभित्र रहेर खाँजा खुला गरिरहेका छन् । हामीचाहिँ विकृति ल्याउँछ कि भनेर पछि हट्न त भएन नि । मान्छे लड्छ भनेर हिँड्दै नहिँड्ने भन्ने कहिँ हुन्छ !

सरकारको नियमन र निगरानीमा तोकिएको क्षेत्रमा उत्पादन गर्ने गरी गाँजा फुकुवा गरेर हामीले आर्थिक लाभ लिनुपर्छ । यसबाट आयुर्वेदिक तेल बन्छ । बोक्राबाट कपडा बन्छ । स्टिलभन्दा बलियो र कीराले नखाने घरको भित्ता बन्छ, झोलालगायतमा सामग्री बन्छन् । विश्व स्वास्थ्य संगठनले बनाएको समितिले हिरोइनले मानव शरीरलाई ९० प्रतिशत असर गर्छ भनेको छ, कोकिनले ७० प्रतिशत र चुरोट–रक्सीले ३५ प्रतिशत असर गर्छ भनेको छ । तर, गाँजालाई ९२ प्रतिशत औषधिजन्य वनस्पतिका रूपमा लिएको छ । २ प्रतिशत यसको लठ्याउने पक्षलाई पनि मानव शरीरलाई कुनै हानी गर्दैन । त्यसैले गाँजा प्रतिबन्ध नफुकाउनुपर्ने कुनै कारण छैन । यसले विकृति निम्त्याउँछ भने त्यस्तो विकृति रोक्ने काम राज्यको हो । अहिले पनि गाँजा प्रतिबन्ध छ । तर, कुन गाउँ र सहर छ जहाँ गाँजा पाइँदैन ? कुनै छैन । प्रतिबन्ध लगाइएका हरेक चीजको उल्लंघन गर्ने मान्छे पनि हुन्छन् । भ्रष्टाचार गर्न पाइँदैन भन्ने कानुन छ । तर, भ्रष्टाचार भइरहेको छ । त्यसलाई रोक्ने काम राज्यको हो ।

गाँजालाई व्यावसायिक रूपमा खेती गर्ने हो भने यसमा युवा आकर्षित भएर वैदेशिक रोजगारीलाई रोक्ने देखिन्छ । वैदेशिक रोजगारीमा गएको मानिसको गाउँ घरमा प्रसस्त जग्गा जमिन खाली छ । ४ रोपनी जग्गामा गाँजा खेती गर्ने हो भने उसले विदेशमा १० वर्षमा कमाउने पैसा यहाँ एक वर्षमा कमाउँछ । हामी हाइड्रोपावरबाट कमाउने भनिरहेका छौं । त्यसका लागि २० वर्ष लाग्छ । त्यो पनि प्रतिव्यक्तिमा पुग्दैन । तर, गाँजा प्रत्येक व्यक्तिको घर–घरमा मात्र नभएर हात–हातमा पैसा पुग्छ । त्यो पनि बिना लगानी ।

तेल हुनेले तेल बेच्छ, हीरा हुनेले हीरा बेच्छ, खानी हुनेले कोइला बेच्छ । जसलाई प्रकृतिले जे दिएको छ, त्यही बेच्ने हो । हामीलाई गाँजा दिएको छ भने बेच्न किन नपाउने ? अहिले चोरी–चकारीका माध्यमले हामीकहाँ गाँजाको कारोबार भइरहेको छ । किसानले प्रतिकिलोग्राम ४–५ हजार रुपैयाँमा बेचिरहेका छन् । बिचौलियाले २५ हजारसम्म लिएको सुनिन्छ । तर, यही गाँजा डिल्ली र बम्बईमा प्रतिकिलोग्राम ४ देखि ५ लाखसम्म बिक्री भइरहेको छ । ल हेर्नुस् त हाम्रोमा हजार उता लाख !
हाम्रोमा वैध भयो भने ४ लाख नपाए पनि कम्तीमा ३ लाख त पाउलान् । भारतमा ५ लाखमा बिक्री हुन्छ भने नेपालबाट ३ लाखमा कसो नलग्लान् ! अझ युरोप, अमेरिका पु¥याउन सक्ने हो भने ३०–४० लाख पर्न सक्छ । घरमा सुतेर बस्नेले वार्षिक २ लाख कमाउन सक्छ, जाँगर गर्नेले १० लाख कमाउन सक्छ । देशको समृद्धिको आधार गाँजा खेती बन्न सक्छ । यस्तो चिजमा हामीले अब ढिला गर्नै हुँदैन ।


प्रतिक्रिया दिनुहोस्