हिप्पी युगमा ठमेलको गाँजा बजार, जहाँ ताँती लाग्थे विदेशी तन्नेरीहरु « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

हिप्पी युगमा ठमेलको गाँजा बजार, जहाँ ताँती लाग्थे विदेशी तन्नेरीहरु



काठमाण्डौं । धेरैवर्षदेखि प्रतिबन्धित गाँजा बेच्नु त टाढाको कुरा सेवन गर्दासमेत अपराध मानिन्छ र कानुनी हिसाबले यो अहिले प्रतिबन्धित छ । त्यहि कुनैबेला नेपालकै राजधानी काठमाण्डौंको ठमेल गाँजा बजारले विश्वमै चर्चित थियो । दिनहुँजसो सयौंको संख्यामा विदेशी युवा युवतीहरु गाँजाकै लागि लाइन लाग्थे भन्ने सुन्दापनि अहिलेका नेपाली पुस्तालाई कुनै कथामा रचिएको कहानीजस्तै लाग्दो हो । आखिर यो सत्य इतिहास थियो नेपाली ठमेल गाँजा बजारको ।

‘यहाँ गाँजा र चरेस पाइन्छ ।’ प्रतिबन्ध हुनुअघिसम्म वसन्तपुर, झोंछे एवं ठमेल क्षेत्रमा यस्तै साइनबोर्ड देखिन्थे । त्यतिबेला पान–सुपारी जस्तै गाँजाको बेचबिखन हुन्थ्यो । खुलमखुला, निर्वाध । गाँजाको धुँवामा मन–मग्न हुनकै लागि पश्चिमा मुलुकका तन्नेरीहरू नेपाल भित्रिन्थे । त्यससँगै जिन्स, गिटार र पप संगीत भित्रियो, जो हिप्पी संस्कृतिका रूपमा परिचित छ ।

त्यस समयको आसपास नेपालमा उत्पादित गाँजा दक्षिण एसियाली मुलुकमा निर्यात हुने गरेका विभिन्न तथ्यांक उपलब्ध छन् । २००८ सालमा खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० विगाहा जग्गामा गाँजाको खेती गर्न आह्वान गरेको थियो । त्यसअघि नागरिकले आफ्नो इच्छाअनुरूप गाँजा खेती गर्दै आएका थिए । १८७५ मा फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ द किङ्न्डम अफ नेपाल’ मा नेपालको गाँजा खेतीबारे पनि उल्लेख गरिएको छ । सो समयमा नेपालमा अत्यधिक मात्रामा गाँजा खेती हुन्थ्यो । यो नेपाली समाजको आर्थिक उपार्जनको एक माध्यम भएकोसमेत पुस्तकमा उल्लेख छ ।
नेपालको तराई–मधेशसँगै मध्य र पश्चिम पहाडका जिल्लामा प्रसस्त मात्रामा उत्पादन हुने गाँजा दोस्रो विश्वयुद्धदेखि विदेशमा ब्रान्डका रूपमा बिक्री वितरण सुरु भएको इतिहासमा उल्लेख छ ।

सन् १९६० को दशकमा स्वतन्त्रताको नारासहित हिप्पी युगको सुरुवात भयो । युरोप, ग्रीस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हिप्पी यात्रा नेपाल आइपुग्यो । हिप्पी ट्रेलमा गाँजाको अत्यधिक व्यापार हुन थालेपछि पश्चिमा देशले हिप्पी ट्रेलका देशलाई गाँजामा कडाई गर्न निर्देशन दिए । त्यसपछि नेपालले पनि २०१७ सालमा आएको नार्कोटिक महासन्धिमा हस्ताक्षर गरेर गाँजामाथि प्रतिबन्ध लगायो । हिप्पी बनेर नेपाल आएका अमेरिकीहरू आलू औषधमा लठ्ठिएर यतै बस्न थालेपछि अमेरिकाले नेपालमाथि यस्तो प्रतिबन्ध लगाउन दबाब दिएको थियो ।

मर्सी कप्र्सले आफ्नो रिपोर्टमा गाँजामाथिको सरकारी प्रतिबन्धलाई माओवादी जनयुद्धको एउटा कारण भएको उल्लेख गरेको छ । गाँजामा निर्भर रहेका परिवारमाथि प्रतिबन्धले आर्थिक संकट आएको र उनीहरू जनयुद्धमा होमिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘३० वर्षअघिसम्म नेपालको पश्चिम पहाडी भाग सम्पन्न क्षेत्र थियो । उनीहरूसँग वर्षभरिलाई चाहिने खाद्यान्न, नुन, तेल र परिवारका हरेक सदस्यका लागि एक जोडीभन्दा बढी लत्ताकपडा, चाँदीको सिक्काले बनेका हार र बाला, सुनका आभूषण किन्न पर्याप्त पैसा हुन्थ्यो ।’ त्यो पैसा उनीहरूले गाँजाको कारोबारबाट प्राप्त गर्ने गरेको प्रतिवेदनमा लेखिएको छ ।

जसअनुसार सन् १९३० को सुरुवातदेखि १९७० सम्म रेड जोन नेपाली गाँजाको प्रमुख उत्पादनकर्ता थियो, जसको गुणको विश्वभर चर्चा हुन्थ्यो । दोस्रो विश्वयुद्धको दौरान नेपाली गाँजा भारतमा प्रमुख निर्यात बनिसकेको थियो । रेड जोनका जंगलहरूमा नै गाँजाका बोटहरू उम्रन्थे भने कम जनसंख्या भएको उत्तरी रुकुमका सबै भाग, उत्तरी रोल्पाका धेरै जसो भाग र पूर्वी सल्यान र सुर्खेतका केही साना क्षेत्रहरूमा गाँजाका बोटहरू पाइन्थे । बोटका बोक्राहरू पारम्पिरक रूपमा डोरी बनाउन प्रयोग गरिन्थ्यो भने त्यसबाट निस्कने खस्रो रेशमलाई झोला र राम्रो रेशमलाई मगरहरूको पारम्परिक पहिरन बुन्न प्रयोग गरिन्थ्यो । गाँजाको दाना चट्नी र अचारको मसला बन्थ्यो । आजभन्दा ४३ वर्षअघि गाँजामाथि प्रतिबन्ध लागेपछि औषधिहरूको उत्पादनसँगै यसको निर्यात पनि बन्द भयो । गाँजा खेती र उत्पादन हुन छाड्यो ।

अहिले विश्वका ६५ भन्दा बढी देशले गाँजामाथिको प्रतिबन्ध हटाइसकेका छन् । छिमेकी देश भारतले गाँजा खेतीबाट वार्षिक ६ खर्ब आर्थिक उपार्जन गरिरहेको विभिन्न तथ्यांकले देखाएको छ । थाइल्यान्डमा पनि हालसालै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर औषधिका रूपमा प्रयोग गर्न तथा खेती गर्न खुला गरिएको छ । क्यानाडामा वि.सं. १९७९ मा प्रतिबन्धित गाँजा विं सं. २०५७ देखि औषधि प्रयोजनका लागि खुला गरियो । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले त हालसालै गाँजाको व्यक्तिगत प्रयोग र खेतीमा प्रतिबन्ध लगाउनु ‘नागरिकको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हुने’ फैसला गरेको थियो ।

नेपालले अमेरिका तथा युरोपेली देशको लहलहैमा लागेर यसरी गाँजामाथि प्रतिबन्ध लगाएको तर्क यतिबेला बहसमा छ । ती देशहरू आफैंले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुलाई त्यसको प्रमाण मानिएका छ । पश्चिमा देशहरूले गाँजामाथि प्रतिबन्ध लगाएर अन्य देशलाई दबाब दिएको थियो । अहिले उनीहरूले गाँजाखेती फुकुवा गरेर राम्रै आयआर्जन गरिरहेका छन् । हामी भने उनीहरूले देखाएको पुरानो बाटोमा हिँडेर राम्रै सम्भावना पनि गुमाइरहेका छौँ ।


प्रतिक्रिया दिनुहोस्