‘महासंघको नेतृत्व बैंकर्सको हात पुग्यो, अब आर्थिक समस्या समाधानमा संयुक्त पहल गरौं’: अर्थमन्त्री महत « Arthapath.com
४ बैशाख २०८०, सोमबार

‘महासंघको नेतृत्व बैंकर्सको हात पुग्यो, अब आर्थिक समस्या समाधानमा संयुक्त पहल गरौं’: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको बताए ।

महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेकाले देशको अर्थतन्त्र सुधार आउनेमा मन्त्री महतले विश्वास व्यक्त गरे । उनले महासंघका नवनिर्वाचित पदाधिकारीलाई भेटघाट गरि सोमबार बधाइ तथा शुभकामना दिँदै यस्तो बताएका हुन् ।

अर्थमन्त्रका वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएको बताए । तर, डराउनुपर्ने अवस्था नरहेको उनको जानकारी गराए । उनले भने, –‘केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ । महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं ।’

यस्तो अप्ठ्यारो बेला सरकार निजी क्षेत्रको समन्वय आवश्यक रहेको उनेले बताए । उनले भने,– ‘ हामी एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’ उनले थपे,–‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौति छ’ ।

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको मन्त्री महतको भनाई छ । उनले भने,–‘बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्थ्यो । तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौं, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण छ।’

मन्त्री महतले राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिए । ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’

निजी क्षेत्रले पनि वास्ताविकता पहिचान गर्नुपर्नेमा उनले जोडदिए । यसका साथै मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताए । उनले भने,–‘ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो । अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ ।’


प्रतिक्रिया दिनुहोस्