जलविद्युतमा लगानी बढाउन महासंघ सहजीकरणका लागि तयार छ: अध्यक्ष ढकाल « Arthapath.com
६ बैशाख २०८०, बुधबार

जलविद्युतमा लगानी बढाउन महासंघ सहजीकरणका लागि तयार छ: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावनालाई यथार्थमा परिणत गर्न निजी क्षेत्रको तर्फबाट महासंघले सहयोग गर्न तयार रहेको बताए ।

राजधानीमा मंगलबारदेखि सुरुभएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गदैै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएकोले यसलाई अवसरको रुपमा लिँदै नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरे ।

उनले भने,–“नेपालमा जलविद्युतलगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने नै छ । हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरु छिमेक मै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईलाई सहजीकरण र सहयोग गर्न तयार छौँ।”

नेपालले गत वर्ष भारतमा विद्युत निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको भन्दै अध्यक्ष ढकालले बंगलादेशको बजारका लागि पनि सरकारी तहबाट सकारात्मक कुराकानी भइरहेको जानकारी समेत गराए । उनले नेपाल सरकार तथा अन्य सरोकारवालाहरुलाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्