अर्थतन्त्र चलायमान बनाउने गरि नै अगामी मौद्रिक नीति आउँछ: अर्थमन्त्री महत « Arthapath.com
८ असार २०८०, शुक्रबार

अर्थतन्त्र चलायमान बनाउने गरि नै अगामी मौद्रिक नीति आउँछ: अर्थमन्त्री महत




काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिले थप कुरा ल्याउने बताए । नेपाल उद्योग परिसङ्घ (सीएनआई) को २०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

पुँजीगत र्खचको स्पेश बढाउन नसकिएको उनको भनाई थियो । ‘हाम्रो अर्थतन्त्र अब चलायमान हुन्छ, मौद्रिक नीतिले थप कुरा ल्याउँछ भन्ने कुरामा मलाई विश्वास छ । हामीले पूँजीगत खर्चको स्पेस बढाउन सकिएन’–अर्थमन्त्री महतले भने ।

साधारण खर्चअन्तर्गत सामाजिक सुरक्षा खर्चबाट पछि हट्ने सक्ने अवस्था नभएको उनको भनाई थियो । उनले भने,–‘साधारण खर्च बढाउँदै जाने प्रवृत्ति रोकेका छौं । अर्कोतर्फ ऋण र ब्याज तिर्ने दायित्व हाम्रो बढ्दै गयो, अर्को वर्ष अझ बढ्दैछ । यो चाहिँ हाम्रा लागि चासो र चिन्ताको विषय हो । यसले पूँजी र खर्चमा दबाब अझ बढ्दै गएको छ ।’ उनले थपे,–‘खर्च जहाँ तय भएको छ, त्यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुन्छ । पूँजीगत खर्च गर्न सकियो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।’

चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो । उनले सरकार निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध र जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको बताए । उनले भने,–‘हामीले यसपटक कर बढाएका छैनौं । कति कमी वा बढी भयो भन्ने बारेमा तुलनात्मक अध्ययन गरौंला । अहिलेको बजेटमा करको दायरा विस्तार गर्ने कुराहरु गरेका छौं । भ्याटमा छुटको सूचि प्रत्येक वर्ष बढ्दो छ, त्यो छुटको सूचि बढ्ने क्रममा रोकेका छौं । एकाउन्टिङ सिस्टममा जान हिचकिच्चाएको देखिन्छ, समस्या त्यही छ।’

कतिपय उद्योगी व्यवसायीहरुले कर लगाउन तर, भ्याट नलगाउन पनि भनेको अर्थमन्त्रीले बताए । उनले भने,–‘कतिपय उद्योग व्यवासयी साथीहरुले हामीलाई अर्को कर लगाइदिए हुन्छ, भ्याट लगाइदिनु भएन भन्नुभयो । भ्याट भ्यालु एडिसनमा मात्र लाग्ने हो, ट्रान्जेक्सनमा लाग्दैन । नयाँ सिस्टममा जान जुन हिचकिचावट छ, पनि समस्या हो ।’

उनले समग्रमा अर्थतन्त्रलाई चलायमान गर्नेतर्फ बजेट उन्मुख रहेको बताए । उनले भने–‘हामी नयाँ सिस्टममा जानै पर्छ, जसले सबैलाई यसमा बानी पार्नैपर्छ । जहाँसम्म केही वस्तुहरुमा नलागेको भए हुन्थ्यो भनिएको छ, त्यसमा पनि लजिकहरु छ । कतिपय ठाउँमा प्राविधिक रुपमा इरर भएको हुनसक्छ ।’


प्रतिक्रिया दिनुहोस्