११ महिनामा १.७० खर्ब वैदेशिक सहायता प्रतिवद्धता « Arthapath.com
२२ असार २०८०, शुक्रबार

११ महिनामा १.७० खर्ब वैदेशिक सहायता प्रतिवद्धता



काठमाडौं । आर्थिक बर्ष ११ महिनामा १ खर्ब ७० अर्ब ५१ करोड बराबरको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । आन्तरिक रुपमा स्रोत जुटाउन अफ्ठ्यारो परिरहेको बेला अर्थ मन्त्रालयले बिभिन्न विदेशी दातृ निकायसँग सो बराबरको सहायताको सम्झौता गरेको हो ।

अर्थ मन्त्रालयबाट प्राप्त जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । मन्त्रालयले नेपालका बिभिन्न २२ परियोजना तथा कार्यक्रममा सो बराबरको ऋण तथा अनुदान लिने गरि विदेशी दातृ निकायसँग सम्झौता गरेको हो ।

त्यसमा १ खर्ब २९ अर्ब ८४ करोड रुपैयाँ ऋण सम्झौता रहेको छ । यसैगरि ४० अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको भने अनुदान लिने गरि दातृ निकायसँग सम्झौता गरिएको अर्थ मन्त्रालयको भनाइ छ ।

मन्त्रालयकाअनुसार विश्व बैंकसँग डिजीटल नेपाल एक्सेलेरेशन, हरित लचिलो र समावेशी विकास र नेपालको क्षेत्रीय यातायात तथा व्यापार कनेक्टीभीटी र स्कुल शिक्षा क्षेत्र योजना परियोजनामा ८१ अर्ब ३४ करोड रुपैयाँ ऋण लिने गरि सम्झौता भएको छ । डिजीटल नेपाल एक्सेलेरेशनमा १७ अर्ब ७९ करोड रुपैयाँ, हरित लचिलो र समावेशी विकासमा १२ अर्ब ७५ करोड रुपैयाँ र यातायात तथा व्यापार कनेक्टीभीटीमा ३४ अर्ब ९६ करोड रुपैयाँ ऋण लिने गरि विश्व बैंकसँगको सम्झौता भएको मन्त्रालयको भनाइ छ । यसैगरि स्कुल शिक्षा क्षेत्र योजनामा २६ अर्ब ५१ करोड रुपैयाँ ऋण लिने गरि सम्झौता भएको छ ।

यस्तै, जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) ले नेपालको शहरी प्रसारण र वितरण प्रणाली सुधारमा १४ अर्ब २० करोड रुपैयाँ ऋण दिने गरि सम्झौता भएको छ । यसैगरि एसियाली विकास बैंकले नेपालको पहाडी क्षेत्रमा नट तथा पलफूल योजना कार्यक्रमा ७ अर्ब ७९ करोड रुपैयाँ र विद्यालय शिक्षा क्षेत्र योजनामा २६ अर्ब ५१ करोड रुपैयाँ कर्जा दिने गरि सम्झौता भएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै, एडिबी र जाइकका सहित अन्य बिभिन्न देशका दातृ निकायसँग ४० अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको अनुदान लिने गरि सम्झौता भएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्