ब्याजदर नियन्त्रण गर्न चुनौति छ: अर्थमन्त्री महत « Arthapath.com
२४ असार २०८०, आईतवार

ब्याजदर नियन्त्रण गर्न चुनौति छ: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले ब्याजदर नियन्त्रण गर्न चुनौति रहेको बताए । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन् ।

उनले लघुवित्तले आफ्नो लक्ष्यलाइ बिर्सन नहुने बताए । सिमान्तकृत समुदायलाई सहयोग गर्नु लघुवित्तको मुख्य भुमिका रहेको उनको भनाई थियो ।

उनले भने,–‘ब्याजदर नियन्त्रण गर्न चुनौती छ । सरकारले सहयोग गर्नेछ । लघुवित्तले सानो व्यवसायीको जीवनस्तर वृद्धिमा ठुलो योगदान छ । गरिबीको रेखामुनिका रहेका नागरिकहरुलाई माथि उठाउने गरि काम गर्नुपर्छ ।’ सरकारले पुँजी प्रवाह र उत्पादनलाई प्राथमिकतामा राखी नीति लिएको उनको भनाई थियो । लघुवित्तले देशका दुर दरजसम्म पुगेर सेवा प्रवाह गर्नुपर्नेमा जोडदिए ।

‘सरकारको गरिबी निवारणको लक्ष्य, सन् २०३० सम्म दीगो विकासको लक्ष्यमा पुग्ने भनिरहेका छौं, त्यसका धेरै सूचांकहरुमध्ये एउटा गरिबी हटाउने महत्वपूर्ण लक्ष्यलाई यो साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने छ भन्ने मलाई विश्वास छ’ मन्त्री डा. महतले भने, ‘वित्तीय संस्थामा समस्या देखिएको छ, सहकारी संस्था देशैभरि विस्तार भएको छ । स्थानीय सहभागी हुन्, त्यहीबाट सानोतिनो पूँजी जम्मा होस् र त्यहीका सञ्चालकहरु हुन् । सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो । तर, यसले ठूलो आकार लियो, यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भए । जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आयो ।’

यो साना किसान लघु वित्तीय संस्था यो समस्याबाट टाढा हुनेछ र देशकै उदारणीय रुपमा यो प्रस्तुत हुनेछ विश्वास व्यक्त गर्दै मन्त्री डा। महतले स्वभाविक रुपमा साना किसानलाई यसले सेवा दिने भएकाले अहिलेको चुनौति भनेको यसको ब्याज रहेको बताउनुभयो ।

मन्त्री डा। महतका अनुसार साना किसानको जीवस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो । सरकारको पनि त्यही लक्ष्य हो, एउटा तहबाट अर्को तहमा जाँदा महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको हो । कसरी थोरै ब्याजमा पूँजी प्रवाह गर्ने भन्ने विषय हाम्रा लागि चुनौति हो ।


प्रतिक्रिया दिनुहोस्