ब्याजदर तलमाथि हुने वित्तिकै सेयर बजारमा हलचल, पुँजी बजार बैंकमा मात्रै निर्भर हुनुहुँदैन: डेपुटी गभर्नर ढुंगाना « Arthapath.com
२६ असार २०८०, मंगलवार

ब्याजदर तलमाथि हुने वित्तिकै सेयर बजारमा हलचल, पुँजी बजार बैंकमा मात्रै निर्भर हुनुहुँदैन: डेपुटी गभर्नर ढुंगाना



काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाले निक्षेपको ब्याजदर न्युन हुँदा पुँजी पलायनको जोखिम हुने बताएकी छिन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको नेपालमा वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक सम्बाद कार्यक्रम उनले यस्तो बताएकी हुन् ।

उनले निक्षेपको ब्याजदर कम हुँदा बचत निरुत्साहित हुनुका साथै उपभोग प्रोत्साहित भई आयात मार्फत पुन: शोधानान्तर स्थितिमा दबाव सृजना हुने बताइन् । उनले भनिन्,–‘अधिक तरलताको प्रभावमा निक्षेप र कर्जाको ब्याजदरमा देखिन थालेको छ । निक्षेपको ब्याजदर न्युन हुदाँ पुँजी पलायन र बचत निरुत्साहित तथा उपभोग प्रोत्साहित भई आयात मार्फत पुन: शोधानान्तर स्थितिमा दबाब सृजना हुन्छ ।’

उनले तर, कर्जाको ब्याजदर न्युन हुँदा अनुत्पादशील क्षेत्रमा कर्जा लगानी प्रोत्साहित भई सम्पत्तिको मूल्यमा उछाल आउने डेपुटी गभर्नर ढुंगानाको भनाई छ । जसले आयात वृद्धिमार्फत पुन: शोधनान्तर स्थिति घाटा जाने सम्भावना रहेकाले यस्तो चक्रिय अवस्थाको दीर्घकालिन समाधान चुनौतिपूर्ण रहेको ढुंगानाले भनिन् ।

यस्तै, बैंकहरुको ब्याजदर परिवर्तन हुने वित्तिकै सेयर बजारमा हलचल हुने डेपुटी गभर्नर ढुंगानाको भनाई थियो । उनले भनिन्,–‘पुँजी बजारलाई दीर्घकालिन पुँजी परिचालनको स्रोतको रुपमा विकास गर्न आवश्यक छ। यद्यपि, यो चुनौति पनि छ । सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा अधिक रहेको छ भने वास्तविक क्षेत्रका उत्पादनमूलक कम्पनीहरुको हिस्सा अत्यन्त न्यून रहेको छ ।’

यसको अलवा पूंजी बजारमा हुने लगानी बैंकिङ्ग क्षेत्रको वित्तीय स्रोतमा मात्र निर्भर रहेको उनको भनाई थियो । फलस्वरूप व्याजदरमा परिवर्तन आएसँगै पूँजी बजार तत्काल प्रभावित हुने र नेप्से परिसूचकमा अस्वाभाविक उत्तारचडाव आउने गरेको ढुंगानाले बताइन् ।

‘वास्तविक क्षेत्रका कम्पनीहरुको कमजोर नियमन, सस्थागत सुशासनको कमी तथा न्यून वित्तीय पारदर्शिताका कारण पूँजी बजारमार्फत् बण्ड, ऋणपत्र लगायतका उपकरणबाट दीर्घकालीन पुँजी परिचालन गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ’– डेपुटी गभर्ननर ढुंगानले भनिन् ।


प्रतिक्रिया दिनुहोस्