कांग्रेस भित्र गाली गर्ने प्रवृत्ति विद्यमान छ, झुटोको थुतुनो सुनेर हामी प्रभावित हुन्छौः महत « Arthapath.com
३ पुष २०८०, मंगलवार

कांग्रेस भित्र गाली गर्ने प्रवृत्ति विद्यमान छ, झुटोको थुतुनो सुनेर हामी प्रभावित हुन्छौः महत



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको सबैभन्दा ठूलो कमजोरी भनेको प्रचार भएको बताएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘हाम्रा कुरा राख्दैनौं, अरुको कुरा सुन्ने, त्यसबाट प्रभावित हुने र आफैलाई गाली गर्ने प्रवृत्ति हामीकहाँ विद्यमान छ । झुटोको थुतुनो सुनेर हामी प्रभावित हुनुभएन ।’

कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको उनको तर्क थियो । महतले भने, ‘ कतिपय साथीहरुलाई गठनबन्धन किन गर्नुप¥यो भन्ने लागेको होला । यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ । तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन ।’

‘मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन छ । एकल बहुमतका लागि हामीले ठूलै जनप्रभाह हासिल गर्नुपर्ने उहाँको भनाइ थियो’ उनले भने, ‘कांग्रेसबाट सरकारमा सहभागी भएका हामीले काम गरिरहेका छौं, तर देशमा समस्या धेरै छ, आवश्यकता धेरै छन् । तर हाम्रो सामथ्र्य कम छ । देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन । तर समस्या समाधानका लागि हामीले इमान्दार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं ।’

मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्री बनेका बेला हाम्रो अर्थतन्त्र अत्यन्त अप्ठ्यारोमा थियो, अघिल्लो सरकारले सिर्जना गरेको समस्या थुप्रिरहेका थिए । त्यसबेला ठूल–ठूलो बिल्डिङ बन्ने घोषणा भए, बिल्डिङ बनुन्जेल रोजगारी पाइन्छ, सिमेन्ट, छठ बिक्री हुन्छ, केही आर्थिक गतिविधि पनि बढ्छ । बिल्डिङ बनिसकेपछि उत्पादन दिन छोड्छ । घरबाट निस्कन नमिल्ने बेलामा धेरै ऋण प्रवाह भयो । त्यो ऋण जग्गा र सेयर बजारमा लगानी भयो । जग्गा र सेयरको भाउ बढिहाल्छ भनेर लगानी भएको थियो । तर सधैं भाउ बढ्ने अवस्था थिएन । त्यसबेला जसले ऋण लिए उनीहरु अहिले समस्यामा छन् ।’

बहुमत ल्याएर कांग्रेसको एकल सरकार निर्माणका लागि एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पणभाव आवश्यक रहेको मन्त्री डा. महतको भनाइ छ । उनले भने, ‘नेपाली कांग्रेस पार्टीले गरेको काम र भोलि गरिने कामप्रति सबैले गर्व गर्नुपर्छ, हामी जुन संस्थामा लागेका छौं, यो संस्थामा पुरानो र युवा पुस्ता छ । यो पार्टी एउटा परिवारजस्तो पार्टी हो । लामो समयदेखि दुःखसुखमा हामी सँगै छौं, लामो उठबस भएपछि १९–२० हुनु स्वभाविक हो । ठूलो पार्टी भएको हुनाले सबैले एकैपटक जिम्मेवारी पाउन कठिन हुन्छ । मान्छे खोजीखोजी ल्याएर राख्ने नयाँ पार्टीजस्तो कांग्रेस होइन ।’

‘कांग्रेसभित्र समस्या छ, यसलाई सम्बोधन गर्नेवित्तिकै हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ । नयाँ कुरा लिएर नयाँ पार्टी आउन सक्छन्, तर कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ । कुराको पछाडि होइन, कामको आधारमा पार्टीहरुको मूल्यांकन हुनुपर्छ’ मन्त्री डा. महतले भने, ‘बीपी कोइरालाले भन्नुहुन्थ्यो, ‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ ।’ सत्य बुझेर पनि हामी झुटोको अगाडि चुप लाग्यौ भने, झुटोको थुतुनो चलेको चलै हुन्छ । आम जनताले त्यही झुटोलाई सत्य ठान्छन् । झुटोलाई चिर्न सत्यको मुख बन्द हुनुहुन्न ।’

हाम्रो मुख पार्टीभित्रै साथीहरुको आलोचना गर्न प्रयोग हुनुको सट्टा, जसले हामीविरुद्ध झुटो प्रचार गरिरहेका छन्, त्यसको खिलाफमा हाम्रो पार्टीका साथीहरुको मुख खुल्नुपर्छ । यति गर्न सकियो भने मित्थ्या प्रचारको अन्त्य हुन्छ, झुठ पराजित हुन्छ । यो कुरा हाम्रा साथीहरुले आत्मसाथ गर्न मन्त्री डा। महतले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्