हमालको कार्यकाल सकिएको दुई सातापछि सरकारले बनायो धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि प्रक्रिया अघि बढेको छ । बोर्डका अध्यक्ष छान्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।
बुधवार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिको सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुस्कर र उदय निरौला छन् । निरौला शंकरदेव क्याम्पसका उपप्राध्यापक हुन् । उनलाई विज्ञका रुपमा सदस्य बनाइएको हो । रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएको छ, हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।
अब समितिले बोर्डको अध्यक्ष छनोटको प्रक्रिया अघि बढाउने छ । त्यसका लागि समितिले छनोट सम्वन्धी कार्यविधि बनाउने र विज्ञापन आव्हान गर्नेछ । कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा कार्यविधि अनुसार ३ जनाको नाम छनोट गरि अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ ।
धितोपत्र ऐन अनुसार सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने छन् । त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन् । हाल बोर्डको अध्यक्ष बन्नका लागि आधा दर्जन भन्दा बढी आकंक्षी छन् ।
कसले दिने आवेदन ?
अध्यक्षका लागि नेपाल धितोपत्र बोर्डको छनोट तथा सिफारिस कार्यविधि, २०७८ अनुसार हुनुपर्नेछ । कार्यविधि अनुसार धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक उच्च नैतिक चरित्र भएको हुनुपर्ने छ ।
मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरि धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुुनुपर्ने छ ।
यस्तै, अर्थ मन्त्रालय सम्वद्ध निकायका पदाधिकारीहरुको नियुत्ति तथा मनोनयन सम्वन्धी मापदण्ड, २०७३ अनुसार ३० वर्ष पुरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
