वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग निश्चित, पौडेललाई उपप्रधानसहित गृह बनाउने पक्षमा प्रचण्ड « Arthapath.com
२१ फाल्गुन २०८०, सोमबार

वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग निश्चित, पौडेललाई उपप्रधानसहित गृह बनाउने पक्षमा प्रचण्ड



काठमाडौं । नेपाली काँग्रेससहितको सत्ता गठबन्धन भत्किएपछि नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले हाल मन्त्रिपरिषदको सेट परिवर्तन गर्न लागेको हुन् ।

प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपा सहितको नयाँ सरकार बनाउने भएपछि अहिले भएका मन्त्री सबैलाई हटाउने र नयाँ सानो मन्त्रिमण्डल गठन गर्ने भएका हुन् ।

यसैबीच प्रधानमन्त्री निवासमा बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागि छन् ।

बैठकमा मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । छलफलमा माओवादीको तर्फबाट अर्थमन्त्रीमा वर्षमान पुन लगभग निश्चित भएको स्रोतको दावी छ । यद्यपि, यसबारे औपचारिक निर्णय भइनसकेको स्रोतले बतायो ।

यता एमालेका तर्फबाट अर्थमन्त्रीको चर्चामा रहेका विष्णु पौडेल भने उपप्रधानसहित गृहमन्त्रालय लिएर अघि बढ्ने सम्भावना रहेको बताइएको छ । तर, एमालले भने विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाएर जाने पक्षमा छ ।

‘माओवादीको तर्फबाट वर्षमान पुनलाई अर्थमन्त्री दिने र एमालेले उपप्रधान तथा गृह मन्त्रालयसहित अघि बढ्ने लगभग निश्चित छ’ स्रोतले भन्यो ।

नेकपा एमाले अध्यक्ष केपी ओलीसहितको बैठकले पौडेलाई नै उप्रधान तथा अर्थमन्त्री बनाएर अघि बढ्ने निर्णय गरेको थियो । यता, माओवादीले पनि अर्थमन्त्रालय आफैसँग राख्ने र पुनलाई मन्त्री बनाएर अघि बढ्ने पक्षमा नै छ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्वर्णिम वाग्लेको पनि अर्थमन्त्रीमा चर्चा थियो । तर, पुनलाई अर्थमन्त्री बनाएर अघि बढ्ने लगभग निश्चित भएको हो ।


प्रतिक्रिया दिनुहोस्