निजी क्षेत्र र सेयर बजारका लागि रुचाइएका पौडेल पाँचौं पटक अर्थ मन्त्रालयको बागडोर सम्हाल्दै, को हुन् उनी ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाँचौं पटक अर्थमन्त्री बनेका छन्। सोमबार विस्तार भएको प्रधानमन्त्री केपी शर्मा ओलिको नयाँ सरकारमा पौडेल पाँचौं पटक अर्थमन्त्री बनेका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । उनले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् । पौडेल यसअघि अर्थात् २०७९ पुसमा पनि उपप्रधानसहित अर्थमन्त्री बनेका थिए ।
उनी केपी ओली प्रधानमन्त्री हुँदा २०७२ कात्तिकमा पहिलो पटक अर्थमन्त्री बनेका थिए । मन्त्रीकै रुपमा उनी आठौं पटक हो ।
२०७७ सालमा पनि पुनः दोस्रो पटक अर्थमन्त्री बनेका पौडेल ओली सरकारमै २०७८ मा पनि फेरि अर्थमन्त्री बनेका थिए । २०५३ चैतमा पौडेल पहिलोपटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए ।यस्तै, २०६५मा जलस्रोत र २०६७ मा रक्षामन्त्री बनेका थिए ।
पछिल्लो पटक अर्थमन्त्री बनेसँगै उनीप्रति निजी क्षेत्रदेखि सेयर लगानीकर्ताहरु समेत उत्साहित छन् । पौडेललाई हाल उत्पन्न नेपाली अर्थतन्त्रको समस्या समाधान गर्न सक्ने नेताको रुपमा पनि हेरिएको छ । अर्थतन्त्रको गति सहि ढंगले हाक्न सक्ने नेता तथा आम नागरिकको जनविश्वास रहेको छ ।
पौडेल अर्थमन्त्री भएपछि निजी क्षेत्रदेखि समसामयिक मुद्दामा सकरात्मक पहल कदमी लिने गरेको बताइन्छ । यस्तै, सेयर बजारप्रति सकरात्मक दृष्टिकोण रहेको लगानीकर्ताको हितमा काम गर्ने अपेक्षा राखिएको छ । सेयर लगानीकर्ताहरुले पनि पौडेल बजारमैत्री अर्थमन्त्रीका रुपमा लिने गरेका छन् ।
पौडेलको राजनैतिक यात्रा…
बुवा देवीलाल र आमा रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ मंसिर ५ गते स्याङ्जाको पुतलीबजार–१३ मा भएको हो । माध्यमिक तहसम्म अध्ययान गरेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् ।
पौडेल २०५१ मा प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् । उनी २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री पनि भएका थिए । तत्कालिन एमालेका केन्द्रीय सचिवसमेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही–४ बाट विजयी भएका थिए।
उनले २०३७ मा ३ वर्ष राजकाजको मुद्दा समेत खेपेका छन् । माओवादीसँग एमाले एकीकरण भएपछि बनेको पार्टीको उनी महासचिव पनि भएका थिए। अहिले भने उनी एमालेको उपाध्यक्ष छन् । पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं १ बाट बिजयी भएका हुन् ।