दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
काठमाडौँ । विद्युतीय गाडीको करको दर रेट परिवर्तनमा सूचना चुहावट गरेको गम्भीर आरोप खण्डन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भावुक बनेका छन्। उनले आफूमाथि लागेको उक्त आरोप पुष्टि गर्न खुला चुनौती समेत दिएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा यस विषयलाई लिएर गर्मागर्मी छलफल भएको थियो। सोही छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिए राजनीति मात्र नभई आफ्नो सार्वजनिक जीवन नै त्यागिदिने घोषणा गरे।
छलफलका क्रममा अर्थमन्त्री डा. वाग्ले निकै भावुक सुनिएका थिए। नैतिकताको उच्च कडिमा उभिएर आफूले बनाएको छबि धमिल्याउनका लागि निश्चित मानिसहरू नियोजित रूपमा लागेको र आफ्नो बदनाम गर्ने प्रयास भइरहेको उनको भनाइ थियो।














