१७ बैशाख २०७७, बुधबार

माओवादीप्रति जनताको विश्लेषण ठीक, केपी ओलीको विश्लेषण गलत ठहर



काठमाडौं । स्थानीय निर्वाचनमा प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रले एमालेलाई देशभर पत्तासाफ गर्नका लागि नेपाली काङ्ग्रेससँग चुनावी तालमेल ग¥यो । नेकपा एमाले देशभर करिब–करिब एक्लै स्थानीय निर्वाचनमा होमियो । काङ्ग्रेस र माओवादीको गठबन्धनलाई एमाले एक्लैले पराजित गरेर स्थानीय तहमा एक्लै प्रथम स्थान हासिल गर्न पुग्यो । त्यसपछि माओवादी नेतृत्व अर्थात् प्रचण्ड तिलमिलाए । स्थानीय तहको परिणामले एमाले सर्वाधिक रुचाइएको दल बन्यो भने माओवादी सर्वाधिक अलोकप्रिय । काङ्ग्रेससँग नमिलेको भए स्थानीय तहमा माओवादी भन्ने दल केही जिल्लाका केही स्थानीय तहमा मात्र सीमित हुने राजनीतिज्ञको ठहर भयो ।

स्थानीय निर्वाचनले छटपटाएका प्रचण्ड तत्कालीन एमालेसँग मिल्नका लागि केपी शर्मा ओलीको शरणमा पुगे । पार्टीभित्र आफूलाई माधव नेपाल समूहले पटक–पटक झड्का दिन थालेको कारण ओलीले प्रचण्डसँग धेरै चरणका कुरा गरे । कुराकानीको क्रममा प्रचण्डले ओलीलाई यति विश्वास दिलाए कि ओलीले जे प्रस्ताव ल्याए पनि मान्ने बताए । पार्टीलाई एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गरे । दुई दलबीच आमनिर्वाचनमा मिलेर जाने सहमतिपत्रमा माधव नेपाललाई बाइपास गरेर हस्ताक्षर भयो । हस्ताक्षर गर्ने क्रममा ओलीले तत्कालीन एमालेका धेरै नेतालाई जानकारी दिएका पनि थिएनन् । ओली प्रचण्डको यति विश्वासमा परे कि विवाह नभएर भौँतारिएको युवालाई एउटी केटीले म तिमीसँग विवाह गर्न तयार छु भन्दा जसरी हौसिन्छ करिब–करिब ओली त्यसैगरी हौसिए ।

प्रचण्ड र ओलीबीच निर्वाचनमा एक भएर जाने तथा पार्टी एकतासम्म गर्ने सहमतिपत्रमा हस्ताक्षर गर्दा तत्कालीन एमालेलाई मत दिने मात्र होइन काङ्ग्रेसलाई मत दिनेहरूले पनि माओवादी विश्वासिलो दल होइन, जुनसुकै बेला ओलीलाई धोका दिन्छ भन्थे । माओवादी निर्वाचनमा पनि इमानदार भएर प्रस्तुत भयो । वामदेव गौतमको हकमा बाहेक कतै पनि एमालेलाई धोका दिएन । वामदेवलाई भने एमाले र माओवादी दुवैैले निर्वाचनमा पत्तासाफ गराए । माओवादीका स्थानीय नेताहरू पूरै वामदेवविरुद्ध थिए । त्यही भएर वामदेवले निर्वाचनमा पराजय भोग्नुप¥यो । नत्र अरू विषयमा माओवादी एमालेको पछि–पछि लाग्यो । ओलीले जे–जे भने ती सबै मान्न प्रचण्ड तयार भए । पार्टी एकतापछि पनि पूर्वएमालेका नेताहरूलाई पेल्नुपर्छ भनेर प्रचण्डले ओलीलाई उचालिरहे । ओली पनि अब प्रचण्डले धोका दिँदैनन् र प्रधानमन्त्री र पार्टी अध्यक्ष पाँचवर्षे कार्यकाल पूरै खान्छु भनेर अगाडि बढे ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्नुअघिसम्म प्रचण्ड ओलीका हनुमानजस्तै थिए । ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल हुनेमा धेरै नेता आशावादी थिएनन् । जब ओलीको मिर्गौला प्रत्यारोपण सफल भयो अनि काङ्ग्रेस मात्र होइन, नेकपाका नेताहरू पनि अब हामीले राज गर्न पाउने भएनौँ भनेर ओलीविरुद्धका षड्यन्त्रमा लागे । ओलीका केही सल्लाहकारको ढङ्ग नपुगेकै हो । तिनै सल्लाहकारको कारण ओली कमजोर बनेको बेला प्रचण्डले ओलीलाई अझै माधव नेपालविरुद्ध उचाले । उनले माधव नेपाल समूहलाई टिक्न नै दिएनन् । प्रचण्ड ब्वाँसोले बाछो हेरेको जसरी मौका हेरेर बसिरहे । नेकपाभित्र बबण्डर मच्चाए । ओलीले एक मधेस एक प्रदेश भनेर विगतमा नेपाल नै टुक्र्याउने योजनमा हिँडेका मधेसी दलहरूलाई विभाजन गर्ने बिउस्वरूप अध्यादेश ल्याए । यसको जानकारी प्रचण्डलाई दिएका थिए । प्रचण्डले उपेन्द्र यादवको पार्टीलाई फुटाउन ओलीले अध्यादेश ल्याएको भनेर आफ्ना नजिकका नेता र सञ्चारमाध्यमलाई जानकारी गराएर ओलीविरुद्ध सबैलाई एक हुन उक्साए । पार्टीभित्र बबण्डर मच्चाए । यदि जनताको विश्लेषणलाई ओलीले मानेको भए भने प्रचण्डबाट जुनसुकै वेला ठूलो धोका हुन्छ भनेर त्यहीअनुसार अगाडि बढ्थे । तर, उनले जनताको भन्दा पनि आफ्नो अडान लिए र तत्काली माओवादी अर्थात् प्रचण्डप्रति उनको विश्लेषण अहिले आएर हावा खाएको छ । अहिले पनि विगतदेखि एमालेलाई मत दिएकाहरू माओवादीसँगको मेल दीर्घकालीन नहुनेमा ढुक्क छन् । सिंहदरबारमै संसदीय दलमा पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने गरिन्छ । कतिपय पूर्वएमालेका सांसदलाई पूर्वमाओवादी र पूर्वमाओवादीका सांसदलाई पूर्वएमालेले चिन्दा पनि चिन्दैनन् । आत्मीय सम्बन्ध पनि रहेको छैन ।

प्रचण्ड भन्ने शब्द नै धोकेवाज हो भन्ने पर्याय बनिसकेको छ नेपालको राजनीतिक शब्दकोशमा । त्यसलाई उल्ट्याउने प्रयासमा ओली लागिरहे । तर, जनताले पत्याएका थिएनन् । तर, अहिले जनताको विश्लेषण ठीक ठहर भएको छ । प्रचण्ड शब्दप्रति जनतामा आक्रोश छ । प्रचण्डलाई कतिपय राजनीतिक विश्लेषकहरूले आँपमा लाग्ने किरासँग पनि दाँज्ने गरेका छन् । कहाँबाट र कसरी आँपमा पसेका कसैले थाहा पाउँदैनन्, तर आँप खान नहुने भइसकेको हुन्छ । अहिले नेकपा त्यही किरा लागेको आँपको अवस्थामा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्