बढी मूल्य लिने पसललाई तीन–तीन लाख जरिवाना « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

बढी मूल्य लिने पसललाई तीन–तीन लाख जरिवाना



काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग बढी मूल्य लिने तीन पसललाई जरिवाना तिराएको छ।

काठमाडौँको माकलबारीस्थित माँ अम्बे ट्रेड सप्लायर्स, राजभण्डारी स्टोर्स र बेस्ट किनमेल मार्टले उपभोक्तासँग बढी मूल्य लिएको पाइएपछि जरिवाना तिराइएको हो।

अनुगमनका क्रममा माँ अम्बे सप्लायर्स र राजभण्डारी स्टार्सले बिल जारी नगरी दोहोरो मूल्य कायम गरी स्टीमेट बील जारी गरेको पाइएको थियो। ती दुबै पसललाई बिहीबार अनुगमन तथा निरीक्षण टोलीले तीन–तीन लाख रुपैयाँ जरिवाना तिराएको हो।

यस्तै बेस्ट किनमेल मार्टले व्यवसाय दर्ता नगरी मार्ट संचालन गरेको पाइएको अनुगमन टोलीका निरीक्षण अधिकृत ध्रुव खनालले जानकारी दिए। अनुगमन टोलीले उक्त पसलका संचालकलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार बढी मूल्य लिएको कसुरमा सोही ऐनको दफा ३९ (१) ख बमोजिम जरिवाना तिराएको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्