तलब लिन हिँडेका प्रधानाध्यापकको हत्या « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

तलब लिन हिँडेका प्रधानाध्यापकको हत्या



काठमाडौं । डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन् । ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन् ।

मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए । साथै उनको साथमा नगद ८५ हजारसमेत भेट्टिएको छ । उनले भने, ‘प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनी गोकुलेश्वर आएका बुझिएको छ, प्रहरीले अनुसन्धान गर्दैछ ।’

घरडीसँगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएका भए पनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ । घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको शरीरमा निलडाम र घाउ रहेकोले हत्या गरेर फालेको आफन्तको आशंका छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्