तीन करोड लगानीमा भैंसीपालन मासिक पाँचलाख नाफा « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

तीन करोड लगानीमा भैंसीपालन मासिक पाँचलाख नाफा



सिन्धुपाल्चोक । बैदेशिक रोजगारीबाट फर्किएका र बिदेशिन ठिक्क परेका युवा मिलेर तीन करोड बढी लगानीमा मेलम्ची नगरपालिकामा भैंसीपालन ब्यबसाय शुरु गरेका छन । मेलम्ची नगरपालिका १० शिखरपुरका सात जना युवा मिलेर सामूहिक रुपमा इन्द्रावती पशुपालन तथा कृषि र्फम सञ्चालन गरि भैंसीपालन ब्यबसाय थालेका छन् ।

युवाले ६० वटा उन्नत जातका भैंसीपालन गरेका छन् । ती मध्य ४७ वटा माउ भैंसी रहेका छन् । अहिले दैनिक चार सय लिटर दैनिक उत्पादन हुने गरेको छ । भैंसीहरु तराईका बिभिन्न स्थानबाट वातावरण अनुकुल परीक्षण गरि ल्याइएका हुन् । रोजगारीका शिलशिलामा खाडीमूलुकमा रगत पसिना बगाएर पनि सुख प्राप्ति नभई फर्केका र कमाउन कै लागि बिदेश जान लागेका सात जना युवा पासपोर्ट थन्काएर भैंसीपालन गर्न थालेका हुन् ।

आफ्नै जन्मथलोमा पसिना बगाए आम्दानी गर्न सकिने भैंसीपालक कृषक सहदेव नेपाल भन्नुहुन्छ ‘भैंसीपालन ब्यबसाय अति फस्टाएको र आम्दानी दिन थालेको छ’ । अहिले सबै खर्च कटाएर मासिक पाँच लाख नाफा कमाउन सफल भएका छौ उहाँले हर्षित हुदैं भन्नु भयो “अब कुनै पनि देशमा गएर रगत पसिना बगाइदैंन्” ।

अर्की भैंसीपालक कृषक उषा पराजुलीले पनि गाँउघरमा नै बसेर भैंसीपालन गरेर राम्रो आम्दानी हात पार्न सफल भएको बताउनु भयो । परिवारसंग घरमा नै बसेर भैंसीपालन गर्न थालेपछि आम्दानी र इज्जत नै बढन् थालेको छ उहाँले खुशी हुदैं भन्नुभयो “जे काम गरपनि आफ्नै गाँउघरमा गर्दा उचित हुन्छ ” ।

उनीहरुले एक सय रोपनी भन्दा बढी जग्गा भाडामा लिएर भैसीपालन गरेका छन् । सो ब्यबसायबाट अन्य १० जनालाई र्फममा रोजगारी पनि मिलेको छ । भैंसीपालनबाट निस्केका गोबर र मल ब्यबस्थापन गर्न पनि उनीहरुले अर्गानिक तरकारी खेती पनि गरेका छन् । उनीहरुले उत्पादन गरेको दूध र अर्गानिक तरकारी मेलम्ची बजार र राजधानीमा पुग्ने गरेको छ । उनीहरुले मेलम्चीमा आफ्नै दूध चिस्यान केन्द्र पनि सञ्चालन गरेका छन् । अहिले उक्त र्फम अन्य कृषकहरुको लागि अध्ययन् केन्द्र नै बनेको छ । अहिले पाडापाडी बिक्री गर्न थालेका छन् । दैनिक रुपमा अन्य किसानहरु सो र्फममा भैंसीपालनका सीप सिक्न आउने गरेका छन् । जिल्लामा नै सो भैंसीपालन ब्यबसाय नमूना र उदारणीय बनेको छ ।

तर कृषकहरुको भैंसीपालन ब्यबसायमा मेलम्ची नगरपालिकाले केही सहयोग गरेको छैन् । नगरपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नारा बनाए पनि ती कृषकहरुले अहिलेसम्म नगरपालिकाले प्राबिधिक सहयोग समेत नगरेको गुनासो गरेका छन् । तर कृषि ज्ञान केन्द्र धुलिखेलले भने सो र्फमलाई १५ लाख अनुदान सहयोग गरेको छ । सो र्फमबाट अन्य किसानले सीप सिकेर भैंसीपालन ब्यबसाय शुरु गर्न लागेका छन् ।गोरखापत्रअनलाइनबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्