महासंघको साधारण सभा आजबाट सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

महासंघको साधारण सभा आजबाट सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुने भएको छ । २०७६ साल चैत अन्तिम साता साधारण सभा हुनुपर्नेमा कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

जोखिमका कायम रहेका बेला साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम अभौतिक रूपमा सम्पन्न हुने भएको छ । निर्वाचन कार्यक्रम आगामी शनिबार हुने भएको छ । महासङ्घको साधारण सभाले अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नियुक्त हुने भएको छन् ।

विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्ने प्रावधान रहेको छ । भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासङ्घ सचिवालयले जनाएको छ ।

बन्दसत्रको कार्यक्रम शुक्रबार पनि अभौतिक रूपमै हुने छ । बन्दसत्रमा महासङ्घको आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन् ।

सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको, बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको र वस्तुगततर्फको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ । महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्